T20WC : अस्ट्रेलियाद्वारा दक्षिण अफ्रीका पराजित

२०७८ कार्तिक ६, शनिबार १९:१९

दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकप २०२१ को सुपर-१२ चरणमा विजयी सुरुवात गरेको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा दक्षिण अफ्रीकाले दिएको ११९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर २ बल बाँकी रहंदा भेटायो। अस्ट्रेलियाको लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कस स्टोइनिसले अविजित २४, ग्लेन म्याक्सवेलले १८ तथा म्याथु वेडले अविजित १५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियन ओपनर डेभिड वार्नर १४ तथा आरोन फिंच खाता नखोली तथा मिशेल मार्श ११ रन बनाएर आउट भए। ३८/३ को अवस्थाबाट चौंथो विकेटको लागि स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले ४२ रन जोडे। पन्ध्रौँ ओभरमा स्मिथलाई एनरिक् नोर्कियाले क्याच आउट गरे भने लगत्तै ओभरमा म्याक्सवेललाई तब्रेज शाम्सीले बोल्ड गर्दै दक्षिण अफ्रीकालाई खेलमा फर्काए। त्यसपछि म्याथु वेड र मार्कस स्टोइनिसले पारि सम्हाले र छैठौं विकेटको लागि अविजित ४० रनको साझेदारी गर्दै जित दिलाए।

दक्षिण अफ्रीकाको बलिंगमा एनरिक नोर्कियाले २ विकेट ( ४-०-२१-२ ) तथा कागीसो रबाडा ( ४-०-२८-१ ), तब्रेज शाम्सी ( ४-०-२२-१ ) र केशव महाराज ( ४-०-२३-१ ) ले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ९ विकेट क्षेतीमा ११८ रन बनाएको थियो। उसको लागि एडेन मारक्रमले सर्वाधिक ४० रन बनाए भने कागीसो रबाडाले अविजित १९, डेभिड मिलरले १६, हेनरिच क्लासेनले १३ तथा कप्तान तेम्बा बभुमाले १२ रन बनाए।

खराब सुरुवात गरेको दक्षिण अफ्रीकाले सुरुवाती ४ विकेट ४६ रनमै गुमाउन पुग्यो। पाँचौ विकेटको लागि एडेन मारक्रमले डेभिड मिलरसंग ३४ रन जोडे। चौधौं ओभरमा मिलर एडम जाम्पाबाट एलबिडब्लु आउट भएपछि पुनः लगातार विकेट गुम्न पुग्यो। एक किनार सम्हालीरहेका मार्कक्रम सत्रौं ओभरमा मिचेल स्टार्कबाट क्याच आउट भए। नवौं विकेटको लागि कागीसो रबाडा र एनरिक् नोर्कियाले १७ रनको साझेदारी गर्दै महत्वपूर्ण रन जोडे। अन्तिम ५ ओभरमा २ विकेट गुम्दा ३५ रन बन्यो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ४-०-३२-२ ), जोश हेजलवुड ( ४-१-१९-२ ) र एडम जाम्पाले ( ४-०-२१-२ )समान दुई विकेट लिए। ग्लेन म्याक्सवेल ( ४-०-२४-१ ) र प्याट कमिन्सले ( ४-०-१७-१ ) समान एक विकेट लिए।

अस्ट्रेलियाले आगामी खेल अक्टोबर २८ तारिखमा श्रीलंकासंग तथा दक्षिण अफ्रीकाले अक्टोबर २६ तारिखमा वेस्टइन्डिज बिरुद्ध खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy