युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत चिर प्रतिद्वन्द्वी पाकिस्तान बिरुद्ध अर्धशतक बनाएका भारतीय कप्तान कोहलीले नयाँ विश्वकीर्तिमान बनाएका छन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतको लागि सर्वाधिक योगदान दिने क्रममा ५७ रन बनाएका कोहलीले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरुवाती ३ विकेट ३१ रनमा गुमाएको अवस्थामा दबाबमा कोहलीले अर्धशतक बनाए।
बिराट कोहली टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सर्वाधिक ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। वेस्टइन्डिजको क्रिस गेलको रेकर्ड पछि पार्ने क्रममा कोहलीले दशौँ पटक ५० माथिको स्कोर बनाएका हुन्। टि-२० विश्वकपमा १७ औं खेल खेल्ने क्रममा कोहलीले यो रेकर्ड आफ्नो नाम गरेका हुन्। क्रिस गेलले दोश्रो सर्वाधिक ९ पटक ( २ शतक र ७ अर्धशतक ) बनाएका छन्।
खेलमा कोहलीले अर्को विश्वकीर्तिमान पनि बनएका छन्। कोहली टि-ट्वान्टी विश्वकपमा पाकिस्तान बिरुद्ध सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्। पाकिस्तान बिरुद्ध ४ खेलमा कोहलीले ३ अर्धशतक प्रहार गर्दै २२६ कुल रन बनाएका छन्। यस क्रममा कोहलीले बंगलादेशका शाकिब अल हसनको रेकर्ड तोडेका हुन् जसले ५ खेलमा २२० रन बनाएका छन्।
विश्वकप इतिहासमा कोहलीले पाकिस्तान बिरुद्ध बनाएको कुल २२६ रन टि-ट्वान्टी विश्वकप इतिहासमा एकै टिम बिरुद्ध कुनै ब्याट्सम्यानले बनाएको संयुक्तरुपमा तेश्रो सर्वाधिक रन हो। सबैभन्दा धेरै क्रिस गेलले अस्ट्रेलिया बिरुद्ध २७४ रन, श्रीलंकाका तिलकरत्ने दिलशानले वेस्टइन्डिज बिरुद्ध २३८ रन तथा कोहली समान श्रीलंकाका महेला जयवर्धने पनि २२६ रन बनाएका छन्।
पाकिस्तान बिरुद्ध टि-ट्वान्टी विश्वकपमा ४ खेल खेल्दा आज कोहली पहिलो पटक आउट भएका हुन्। यस अघि ३ वटै खेलमा कोहली अविजित रहेका थिए। कोहलीले पाकिस्तान बिरुद्ध २०१२ विश्वकपमा अविजित ७८ रन, २०१४ विश्वकपमा अविजित ३६ रन तथा २०१६ विश्वकपमा अविजित ५५ रन बनाएका थिए।
