भारत बिरुद्ध ऐतिहासिक जितमा उत्कृस्ट घोषित अफ्रिदीले के भने

२०७८ कार्तिक ७, आईतवार २३:३८

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्ताले ऐतिहासिक जित हात पार्दा पाकिस्तानी पेसर शाहिन शाह अफ्रिदी प्लेयर अफ द म्याच चुनिए। बायाँ हाते पेसर अफ्रिदीले भारतको तिन मुख्य ब्याट्सम्यानको विकेट लिने क्रममा सुरुवातमै रोहित शर्मा र केएल राहुल र अर्धशतक बनाएका बिराट कोहलीको विकेट लिए। रोहितलाई उनले पहिलो ओभरमा खाता नखोल्दै बोल्ड गरेका थिए। खेलमा अफ्रिदीले ४ ओभर बलिंग गर्दा ३१ रन खर्चेर ३ विकेट लिए।

खेलपछि अन्तर्वार्ताको क्रममा २१ वर्षीय अफ्रिदीले आफ्नो योजनामा सफल बताए – “मेरो परिवार र पाकिस्तानीहरुको शुभ आशीर्वादको फल हो। म मेरो प्रदर्शनबाट निकै खुसि छु। मेरो योजना बललाई भित्र ल्याउने थियो। म मात्र स्विंग गर्ने प्रयास गरिरहेको थिएँ र टिमलाई सुरुवाती सफलता दिलाउने बारे सोचीरहेको थिएँ। यही कुरानै म नेटमा हिजो अभ्यास गरिरहेको थिएँ। नयाँ बल बिरुद्ध ब्याटिंग गर्न गार्हो थियो।”

अफ्रिदीले जितको श्रेय कप्तान बाबर आजम र मोहम्मद रिजवानलाई दिए – “बाबर र रिजवानलाई श्रेय जान्छ जसले राम्रो खेले।” उनले थपे। “प्रतियोगितामा सबै टिमहरु राम्रो छन् त्यसैले हामीले यही लयलाई फाइनलसम्म डोर्याउनु पर्नेछ।”

अफ्रिदीको घातक बलिंग मद्दतले दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेको पाकिस्तानले भारतलाई १५१ रनमा सिमित गर्न सकेको थियो। १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई १३ बल बाँकी रहँदै भेटायो र भारत बिरुद्ध आईसीसी विश्वकप इतिहासकै पहिलो जित दर्ता गर्यो। प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल न्युजिल्यान्ड बिरुद्ध अक्टोबर २६ तारिखमा खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy