भारत बिरुद्ध जितपछि पाकिस्तान कप्तान आजमले भने “यो सुरुवात मात्र हो”

२०७८ कार्तिक ८, सोमबार ०१:०६

क्रिकेट इतिहासमै पहिलो पटक भारत बिरुद्ध आईसीसी विश्वकपको खेल जितेपछि पाकिस्तान कप्तान बाबर आजमले जितको श्रेय टिमलाई दिएका छन्। एकदिवसीय र टि-ट्वान्टी विश्वकप इतिहासमा पछिल्लो १२ वटा भेटमा भारतसंग पराजित भएको पाकिस्तानले १३ औं पटक भने अवसरलाई खेर जान दिएन। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेटनै नगुमाई १३ बल बाँकि रहँदै भेटायो र इतिहास रच्न पुग्यो।

जितपछि अन्तर्वार्तामा बाबरले बताए – “यो पुरा टिमको प्रयास हो। हामीले आफ्ना योजनाहरु राम्रोसंग लागु गर्न सक्यौं। सुरुवाती विकेटले निकै सहयोग गर्यो। शाहिनको विकेटहरुले आत्मविश्वास दियो जसपछि स्पिनरहरुले पनि राम्रो दबाब बनाए।” ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते पेसर शाहिन अफ्रिदीले स्पेलको सुरुवातमै रोहित शर्मा र केएल राहुलको विकेट लिंदै दबाब बनाएका थिए।

लक्ष्य पछ्याउनेक्रममा रिजवानसंगको योजना बारे बोल्दै आजमले दोश्रो इनिंग्समा मैदानमा शित हुँदा ब्याटिंग गर्न सहज भएको बताए- “रिजवानसंग मेरो योजना सधैं सामान्य रहन्छ त्यो हो साझेदारी बनाउने। हामि क्रिजको भित्र जाने प्रयास गरिरहेका थियौं र ८ ओभरपछि जब मैदानमा शित आयो त्यसपछि बल सहज रुपमा ब्याटमा आयो। विकेट राम्रो हुँदै गएकाले हामी अन्तिमसम्म ब्याटिंग गर्न चाहन्थ्यौं जसमा हामी सफल पनि भयौं।” आजम र रिजवानले १५२ रनको ओपनिंग साझेदारी गर्दै भारतलाई खेलमा हावी हुने कुनै पनि अवसर दिएनन्।   रिजवानले ७९ तथा आजमले ६८ रन बनाए।

जितले आत्मविश्वास दिएको आजमले बताए – “भारतलाई पराजित गर्दैमा सबै कुरा सहज हुँदैन। यो सुरुवात मात्र हो , हामिसंग यसलाई निरन्तरता दिने आत्मविश्वास छ। एक पटकमा एउटा खेल बारे मात्र सोच्नेछौँ  र अझै धेरै यात्रा बाँकीछ।”

खेल अघि भारतसंगको खराब रेकर्ड बारे नसोचेको उनले बताए – “हामिसंग दबाब धेरै थिएन र रेकर्ड बारे पटक्कै सोचीरहेका थिएनौं। म मात्र हार्मो खेलाडीहरुलाई हौसला दिन चाहन्थे जो राम्रो तयारी गरिरहेका थिए। ठुलो प्रतियोगिता अघि हाम्रो घरेलु प्रतियोगिताले पनि तयारीमा निकै सहयोग गर्यो जसले आत्मविश्वास प्रदान गर्यो।”

प्रतियोगिता अन्तर्गत पाकिस्तानले आफ्नो दोश्रो खेलअक्टोबर २६ तारिख मंगलबार न्युजिल्यान्ड बिरुद्ध खेल्नेछ। त्यसपछि अक्टोबर २९ तारिखमा अफगानिस्तानसंग, अक्टोबर २ तारिखमा नामिबियासंग तथा नोभेम्बर ७ तारिखमा स्कटल्याण्डसंग खेल्ने तालिका छ। समुह चरणमा सबै टिमसंग एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy