टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

२०७८ कार्तिक ८, सोमबार ०९:१०

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल शारजाह स्थित शारजाह क्रिकेट स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

स्कटल्याण्ड समुह चरणमा अपराजित रहँदै समुह ‘बि’ को विजेताको रुपमा सुपर-१२ चरण प्रवेश गरेको हो त्यसैले जितको लय उसको साथमा छ। उसले तिनवटै खेलमा जित दर्ता गर्ने क्रममा बंगलादेशलाई ६ रनले, पपुवा न्यु गिनीलाई १७ रनले तथा ओमानलाई ८ विकेटले पराजित गरेको थियो। स्कटल्याण्डको ब्याटिंगमा रिची बेरिंगटन ( ३ खेलमा १०३ रन ) , म्याथु क्रस ( ३ खेलमा ८२ रन ) तथा बलिंगमा पेसर जोश डेभि ( ३ खेलमा ८ विकेट ) राम्रो लयमा छन्। विशेष गरि पावरप्लेको ओभरमा बिपक्षी टिम माथि दबाब बनाउदै विकेट लिने स्कटल्याण्ड बिरुद्ध अफगानिस्तान सावधान पक्कै हुनुपर्नेछ।

स्कटल्याण्डको जितको लय अफगानिस्तान बिरुद्ध कायम गर्न सहज भने हुनेछैन। अफगानिस्तानले विश्वकप अघि दुई वटा अभ्यास खेल खेलेको थियो जसले दक्षिण अफ्रीका बिरुद्ध हार बेहोरेता पनि दोश्रो अभ्यास खेलमा वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको थियो। अफगानिस्तानका माथिल्लो क्रमका ब्याट्सम्यानहरु हज्रतुल्लाह जजाई र मोहम्मद शाहजाद तथा रहमनुल्लाह गुर्बज लयमा छन्। बलिंगतर्फ उत्कृस्ट लयमा रहेका दुई स्पिनर मोहम्मद नाबी र मुजिब उर् रहमान जस्ता स्पिनरहरु स्कटल्याण्डको ब्याटिंग तहसनहस पार्ने क्षमता राख्नछन्। कप्तान मोहम्मद नाबी ब्याटिंगमा समेत राम्रो गर्न सक्छन्।

हेड टु हेड : टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने अफगानिस्तान र स्कटल्याण्ड बीच भएका सबै ६ खेलमा अफगानिस्तान विजयी भएको छ। विश्वकपमा भएको एक मात्र भेटमा ( सन् २०१६ ) अफगानिस्तान १४ रनले विजयी भएको थियो। २०१६ पछि दुई टिम पहिलो पटक आमनेसामने हुँदै छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy