युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित गर्यो। शारजाह मैदानमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा ६० रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। अफगानिस्तानले जित दर्ता गर्दा बिभिन्न ठूला रेकर्डहरु बनेका छन् जुन निम्न रहेका छन् –
१. अफगानिस्तानको १३० रनको जित उसको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक रन अन्तरको जित हो। यस अघि केन्या बिरुद्ध २०१३ मा १०६ रनको जित अफगानिस्तानको ठूलो रन अन्तरको जित थियो।
२. यो जित टि-ट्वान्टी विश्वकप इतिहासकै संयुक्त रुपमा दोश्रो ठूलो रन अन्तरको जित हो। सन् २००९ मा दक्षिण अफ्रीकासंग स्कटल्याण्ड १३० रनलेनै पराजित भएको थियो। २००७ मा श्रीलंकाले केन्यालाई १७२ रनले पराजित गरेको थियो जुन टि-२० विश्वकपको सबैभन्दा ठूलो जित हो।
३. स्कटल्याण्डले बनाएको ६० रन टि-ट्वान्टी विश्वकप इतिहासकै संयुक्तरुपमा चौंथो कम योगफल हो भने स्कटल्याण्डको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा कम योगफल हो। सन् २०१४ मा न्युजिल्यान्डलाई श्रीलंकाले ६० रनमै समेटेको थियो। टि-२० विश्वकपमा सबैभन्दा कम योगफल बनाउने टिम नेदरल्याण्ड हो जसले २०१४ मा श्रीलंका बिरुद्ध ३९ रन बनाएको थियो। दोश्रो कम पनि नेदरल्याण्डले बनएको ४४ रन हो भने तेश्रो कम जारी विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डसंग बनाएको ५५ रन हो। स्कटल्याण्डको टि-२० अन्तर्राष्ट्रियमा यस अघि सबैभन्दा कम योगफल ८१ रन थियो जुन २००९ मा दक्षिण अफ्रीका बिरुद्ध खेलमा उसले बनाएको थियो।

४. स्कटल्याण्डको इनिंग्समा ५ जना ब्याट्सम्यानहरु एलबिडब्लु आउट हुन पुगे जुन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै एकै इनिंग्सको संयुक्तरुपमा सर्वाधिक एलबिडब्लु हो। जारि विश्वकपमा श्रीलंकासंगको खेलमा नेदरल्याण्डका ५ जना ब्याट्सम्यान एलबिडब्लु भएका थिए।
५. मुजिब उर् रहमानले खेलमा लिएको ५ विकेट मध्ये पावरप्लेको ६ ओभर भित्र १४ रन खर्चेर ४ विकेट लिएका थिए। पावरप्लेको ओभर भित्र यो स्पेल टि-२० विश्वकप इतिहासकै संयुक्तरुपमा सबैभन्दा उत्कृस्ट स्पेल हो। सन् २०१० मा दक्षिण अफ्रीकन पेसर मोर्ने मोर्केलले अफगानिस्तान बिरुद्ध पावरप्लेमा १४ रन खर्चेर ४ विकेटनै लिएका थिए।
६. मुजिब उर् रहमानको स्पेल ( ४-०-२०-५ ) स्कटल्याण्ड बिरुद्ध टि-२० विश्वकप इतिहासकै तथा समग्र टि-२० अन्तर्राष्ट्रिय इतिहासमै स्कटल्याण्ड बिरुद्ध संयुक्तरुपमा सर्वोत्कृष्ट बलिंग स्पेल हो। केन्याका नेहिमिहा ओडीयाम्बोले २०१० मा स्कटल्याण्ड बिरुद्ध समान बलिंग स्पेल दर्ता गरेका थिए जसको मुजिबले बराबरी गरेका छन्।
७. मुजिब उर् रहमानको स्पेल ( ४-०-२०-५ ) अफगानिस्तान बलरको टि-ट्वान्टी विश्वकपमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। यस अघि यो किर्तिमान मोहम्मद नाबीको नाममा थियो जसले २०१६ विश्वकपमा हंगकंग बिरुद्ध २० रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै राशिद खानको खेलमा स्पेल ( २.२-०-९-४ ) मुजिब पछि दोश्रो उत्कृस्ट स्पेल हो।
