T20WC : लयमा फर्किए वार्नर, अस्ट्रेलियाको शानदार जित

२०७८ कार्तिक ११, बिहीबार २२:५९

ओपनर डेभिड वार्नर लयमा फर्किदा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टि-२० विश्वकपको सुपर-१२ चरणमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर १९ बल बाँकि रहँदै भेटायो। अस्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ४२ बलमा १० चौका प्रहार गरे। कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले अविजित १६ रन बनाए।

वार्नर र फिन्चले ७० रनको ओपनिंग साझेदारी गरेका थिए। सातौँ ओभरमा फिंच र नवौं ओभरमा ग्लेन म्याक्सवेलको विकेट लिंदै वानिन्दु हसरंगाले श्रीलंकालाई खेलमा फर्काए। वार्नरले तेश्रो विकेटको लागि स्टिभ स्मिथसंग ५० रनको साझेदारी गरे। पन्ध्रौँ ओभरमा वार्नरलाई दासुन शनाकाले क्याच आउट गरे। त्यसपछि स्मिथ र स्टोइनिसले २५ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। श्रीलंकाको बलिंगमा वानिन्दु हसंरगाले २ ( ४-०-२२-२ ) तथा दासुन शनाकाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट क्षेतीमा १५४ रन बनाएको थियो। उसको लागि भानुका राजापक्षले अविजित ३३ रन तथा कुशल परेरा र चरिथ असलंकाले समान ३५ रन बनाए। दासुन शनाकाले १२ तथा चमिका करुनारत्नेले अविजित ९ रन बनाए।

परेरा र असलंकाले दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरेका थिए। त्यसपछि लगातार विकेट गुम्दा छैठौं विकेटको लागि राजापक्षले कप्तान दासुन शनाकासंग ४० रनको साझेदारी गरे भने सातौं विकेटको लागि करुनारत्नेसंग २० रन जोडे। पावरप्लेको ६ ओभरमा ५३ रन बनाएको श्रीलंकाले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ४-०-२७-२ ), प्याट कमिन्स ( ४-०-३४-२ ) र एडम जाम्पाले समान २ विकेट लिए।

जितपछि अस्ट्रेलिया सुपर-१२ चरणको समुह ‘१’ अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ।  २ खेलमा अस्ट्रेलियाको ४ अंक रहेको छ। समान अंक रहेको इंग्ल्यान्ड नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ। २ खेलमा १/१ जित हार पछि श्रीलंका चौंथो स्थानमा छ। अस्ट्रेलियाले आगामी खेल अक्टोबर ३० तारिखमा इंग्ल्यान्डसंग तथा श्रीलंकाले सोहि दिन दक्षिण अफ्रीकासंग प्रतिस्पर्धा गर्नेछ।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy