रोहितलाई भारतीय टि-२० टिमको कप्तानी, हार्दिकलाई बाहिर राख्दै न्युजिल्यान्ड सिरिजको टिम घोषणा

न्युजिल्यान्ड बिरुद्ध तिन खेलको घरेलु टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले रोहित शर्माको कप्तानीमा १६ सदस्यीय भारतीय क्रिकेट टिमको घोषणा गरेको छ।

बिराट कोहलीले टि-२० फर्म्याटको कप्तानी छाडेपछि कोहलीको स्थानमा रोहितलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो। केएल राहुलले उपकप्तानको जिम्मेवारी पाएका छन्। नोभेम्बर १७ तारिख देखि सुरु हुने सिरिजमा कोहलीलाई आराम दिईएको छ। एकदिवसीय अन्तर्राष्ट्रियको कप्तानी बारे भने निर्णय गरिएको छैन। जस्प्रित बुम्राह, मोहम्मद शामी र रभीन्द्र जडेजालाई पनि सिरिजबाट आराम दिईएको छ।

भारत भ्रमण अन्तर्गत न्युजिल्यान्डले नोभेम्बर १७, १९ र २१ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रिय तथा त्यसपछि नोभेम्बर २५ र डिसेम्बर ३ तारिखदेखि दुई वटा टेस्टको सिरिज खेल्नेछ।


घोषित टिममा आईपीएल २०२१ को सर्वाधिक रनकर्ता रुतुराज गायकवाड तथा सर्वाधिक विकेटकर्ता हर्षल पटेललाई सामेल गरिएको छ। रुतुराजले यसै वर्ष श्रीलंका भ्रमणमा भारतीय टिममा डेब्यु गरिसकेका छन्। लगातार फिटनेसमा संघर्षरत हार्दिक पान्ड्यालाई टिममा स्थान दिईएको छैन जो पछिल्लो समय प्रभावहिन सावित भैरहेका छन्। अलराउण्डर भेंकटेस ऐयरलाई टिममा राखिएको छ। यस्तै विश्वकपमा टिममा रहेका स्पिनर वरुण चक्रवर्तीलाई पनि बाहिर राखिएको छ।

सिनियर लेग स्पिनर युजभेन्द्र चाहल तथा पेसर मोहम्मद सिराजले टिममा पुनरागमन गरेका छन्। टि-२० विश्वकपमा रिजर्भ खेलाडीमा सामेल रहेका श्रेयस ऐयर, अक्षर पटेल तथा दिपक चाहरले पनि मौका पाएका छन्।

घोषित १६ सदस्यीय टिम : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy