राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षक पुबुदु नियुक्त, कति छ तलब ? कहिले आउदैछन् नेपाल ?

२०७८ मंसिर २५, शनिबार १०:२४

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन्। नेपाल क्रिकेट संघको शनिवार बिहान बसेको बोर्ड बैठकले दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

योसंगै पुबुदुले दोश्रो पटक नेपालको मूख्य प्रशिक्षण पद सम्हाल्ने छन्। यस अघि उनले सन् २०११ देखि २०१५ सम्म नेपालको मूख्य प्रशिक्षक रहीसकेका छन्।

मूख्य प्रशिक्षक पुबुदुलाई क्यानले मासिक करिब १२ हजार डलर पारिश्रमिक दिने बुझिएको छ तथापी क्यान र पुबुदुले सम्झौता रकम भने औपचारिक रुपमा खुलासा गरेको छैन।

पुबुदु डिसेम्बर २० तारिख भित्र नेपाल आइपुग्ने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी गराएका छन्। पुबुदु नेपाल आइपुगे पछि नेपाली क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गर्नेछ।

मूख्य प्रशिक्षक पुबुदुको अगाडी नेपाली क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्ने, टि-२० विश्वकपमा नेपाललाई छनोट गर्ने, नेपालको पारम्परिक कमजोरी ब्याटिंग सुधार्ने तथा गुटमा विभाजित नेपाली क्रिकेट टिमलाई पुनः एकजुट बनाउने चुनौती रहेको छ।

पछिल्लो समय नेपाली क्रिकेटमा क्यान र खेलाडी बीचको सम्बन्ध तितो देखिएको अवस्थामा पुबुदुको आगमनले पुनः टिम एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। पुबुदुको अन्तिम कार्यकालमा उनलाई खेलाडीसंग मिलेर क्यानको बिरुद्ध माहोल बनाएको आरोप लागेको थियो। २०१४ टि-२० विश्वकप पछि क्यान र खेलाडीहरु बीचको सम्बन्ध बिग्रिएको थियो जसको पछाडी पुबुदुक पनि हात रहेको बताईन्छ। श्रोतका अनुसार पुबुदुले पुनः नेपालमा काम गर्न गहिरो इच्छा व्यक्त गरेका छन् र दोश्रो कार्यकालको लागि निकै उत्साहित छन्। बिगतमा क्यानसंग तितो सम्बन्ध रहेता पनि उनि सम्बन्ध सुधार गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन चाहेका छन्। नेपालको संरचना राम्रोसंग बुझेकाले उनलाई नेपालमा माहोल बनाउन पनि समय लाग्नेछैन।

सन् २०११ मा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु दासानायेकेको प्रशिक्षण कालमा नेपालले २०१४ मा टि-ट्वान्टी विश्वकप खेलेको थियो। सन् २०११ मा क्यानडा क्रिकेट टिमलाई समेत उनले विश्वकप छनौट गराएका थिए। डिभिजन-४ मा रहेको नेपाली टिमलाई दासानायेकेले डिभिजन-२ हुँदै एकदिवसीय विश्वकप छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्म पुर्याएका थिए। नेपाल पछि अमेरिका क्रिकेट टिमको प्रशिक्षण गरेका उनले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्र बनाएका थिए। सन् २०१५ सम्म नेपालको प्रशिक्षक रहेका उनि आईसीसीको अनुरोधमा केहि समय नेपालको कन्सल्टेन्ट प्रशिक्षकको भूमिकामा समेत रहे। त्यसपछि २०१६ सेप्टेम्बर देखि २०१९ जुलाई सम्म अमेरिकाको प्रशिक्षक रहे। अमेरिकी क्रिकेटमा विवाद पछि उनले राजिनामा दिएका थिए।

५१ वर्षीय दासानायकेले श्रीलंका र क्यानडाको राष्ट्रिय क्रिकेट टिमको लागि समेत खेलेका थिए। विकेट किपर ब्याट्सम्यानले श्रीलंकाको लागि सन् १९९३ र १९९४ को बीचमा ११ टेस्ट तथा सोहि अवधिमा १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसपछि उनले क्यानडा राष्ट्रिय टिमको लागि २००५ आईसीसी ट्रफी खेलेका थिए। सन् २००७ मा उनि क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए र सन् २०११ एकदिवसीय विश्वकपमा क्यानडाको प्रशिक्षक रहेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy