क्यानको कारवाहीपछि पहिलो पटक ज्ञानेन्द्र मल्लको प्रतिक्रिया

२०७८ पुष २, शुक्रबार ०६:१०

अनुशासनको कारवाही गर्दै कप्तान पदबाट हटाइएपछि राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्लले पहिलो पटक प्रतिक्रिया दिएका छन्। ग्यालेक्सी टिभीको कार्यक्रम सिधा कुरामा शुक्रबार रवी लामिछानेसंग कुराकानी गर्ने क्रममा मल्लले नेपाल क्रिकेट संघ ( क्यान ) ले आफू लगायत दिपेन्द्र ऐरी, सोमपाल कामिर दिपेन्द्र ऐरीलाई गरेको कारवाही र ६ महिनाको अनुबन्धबाट मुक्त गर्ने क्यानको निर्णय बारे प्रतिक्रिया दिए।

यस अघि क्यान अध्यक्ष चतुर बहादुर चन्दले खेलाडीहरुलाई कारवाही पछि उक्त टिभीसंग अन्तर्वार्ताको क्रममा मल्लले टिमलाई एक जुट बनाउन नसकेको आरोप लगाएका थिए। उक्त कुराको मल्लले खण्डन गरेका हुन्। अध्यक्ष चन्दले मल्ललाई खेलाडीहरुलाई क्यान बिरुद्ध हस्ताक्षर गर्न जबर्जस्ती गरेको समेत आरोप लगाएका थिए।

चन्दले बताएका थिए – “अहिलेको कप्तान ज्ञानेन्द्र मल्लले टिमलाई एक जुट बनाउन सक्नु भएन। टिममा गुट उपगुट धेरै देखिए र धेरै खेलाडीहरुले जबर्जस्ती क्यान बिरुद्ध हस्ताक्षर गर्न लगाएको भनेर व्यक्तिगत रुपमा क्यानमा उजुरी हाले। गुटबाजी गर्दै गर्दा क्रिकेट विकासमा र खेलमा नराम्रो प्रभाव गर्यो र एकजुटता देखाउन नसकेकाले वहाँलाई परिवर्तन गरिएको हो। खेल्नमा ध्यान थिएन र अन्त्यत्रमा ध्यान गैरहेको थियो। महत्वपूर्ण प्रतियोगिता लिग-२ को साइकल छ, टि-२० ग्लोबल क्वालीफायर आइसक्यो, दुई महिना छ, त्यसमा ध्यान जाओस भनेर वहाँलाई जिम्मेवारी कम दिईएको हो। प्रतिवेदनलेनै उक्त कुरा पुस्टी गरेको छ। पुस्टि गरेर, छलफल गरेर बोर्डले निर्णय गरेको हो। त्यसकारणले निर्णय कुनै पूर्वाग्रही तरिकाले गरिएको हैन। त्यसकारण वहाँहरुको ध्यान खेल्नमा बढी जाओस भन्ने हिसाबले वहाँलाई सचेत गराएको हो। सन्दिप सम्भावना भएको खेलाडी हो र उनमा त्यो क्षमता छ भन्ने निष्कर्षले बोर्डले त्यो निर्णय गरेको हो।” चन्दले प्रतिक्रिया दिएका थिए।

ज्ञानेन्द्रले टिममा गुट छ भने रवी लामिछानेको प्रश्नमा घुमाउरो जवाफ दिंदै उल्टै क्यानलाई प्रतिप्रश्न गरे- “अहिले यो गुट बनायो भन्ने कुरा कहाँ बाट आयो किन आयो त्यो मलाई थाहा भएन। मैले टिमको मेजोरिटिको आवाज राख्ने हो र त्यहि राखेको हो। यसमा तपाईहरुले गुट उपगुट भन्नुहुन्छ भने स्वयम् क्यानमा पनि दुई-तिन गुट छ भने देखिंदै आएको छ। त्यसको भए त्यहाँ पनि गुट उपगुट भएको खण्डमा अध्यक्ष ज्यू लगायत हामी जस्तै कारवाहीमा पर्नु हुन्छ , नैतिकता देखाउनु हुन्छ या के गर्नुहुन्छ ?”

मल्लले थप बताए-“गुट भन्दा पनि यो विषयमा, एक दुई जनाको धारणा फरक छ भन्दैमा यसलाई गुट भनेको कसरि लिने त ? हामि समग्रमा यो कुरा ठिक हो भनेर बहुमत खेलाडी जान्छौ भने धारणा फरक भयो भन्दैमा यो-त्यो ग्रुपमा छ भन्ने छैन। हामि मैदानमा एकजुट भएर उत्रेका छौँ। यसमा कुनै खेलाडीहरुलाई वहाँहरुले कुरा गरेर यस्तो कुरा बाहिर ल्याएको जस्तो लाग्छ।”

मल्लले वर्गीकरणको विषयमा त्रुटी भएको क्यानलाई जानकारी गराएको तर क्यानले वास्ता नगरेको आरोप लगाउदै त्यसपछि मिडियामा पुगेको बताए-“हामीले समग्रमा खेलाडीबाट प्रतिक्रिया पाए पछि मैले क्यानले वर्गीकरणको विषयमा त्रुटी छ र छुटेको खेलाडीलाई समाबेश गर्दै क्यानले बनाएको मापदण्ड अनुसार पछि गरौँ भन्ने जस्तो कुरा गरेको थिएँ। वहाँहरु सम्पर्कमा हुनु हुन्थेन, सम्पर्कमा आउनु भएन। त्यसपछि हामीलाई मिडियाबाट अन्तर्वार्ता दिंदा यो विषय सोधियो जसमा हामीले व्यक्तिगत हिसाबले राय दिंदा, खेलाडीहरुलाई मार परेको कुरा राख्दा, सत्य तथ्य कुरा राख्दा मलाई कारवाही हुन्छ भने यसमा मैले भन्नु पर्ने कुरा केहि पनि छैन। मैले सत्यको लागि बोल्दा बोल्दै कारवाही हुन्छ भने यो कारवाही प्रतिसोधात्म्क देखिन्छ। यसलाई सुल्झाएर जानु पर्ने थियो किनकि यो भन्दा अघिको वर्गीकरणमा पनि यस्तै हुँदा हामि यसलाई बसेर सुल्झाएका थियौं तर त्यहाँबाट केहि पनि नआएपछि चै हामीले मिडियामा दिएको प्रतिक्रियाले सबै खेलाडी ( म लगायत उपकप्तान ) लाई जुन कारवाही गरियो त्यो सन्तोषजनक छैन। सुनियोजित ढंगले हामीलाई टार्गेट गरेको मलाई महसुस भयो।”

मल्लले क्यानले आरोप लगाए जस्तै आफू लगाए जस्तै आफू लगायत खेलाडीहरु राष्ट्रिय खेलकुद परिषदमा पुगेको स्वीकार गरे पनि अन्य विषयमा कुराकानी गरेको बताए – “परिषदमा हामी नवनियुक्त सदस्यसचिवलाई हामि भेट्न गएका हौँ। हामीले खेलकुद परिषदबाट हेरीदिनु पर्यो। ट्राइ नेसन जित्दा पुरस्कार घोषणा गरिएन। फुटबलले ट्राई नेसन खेल्दा दुई पटक पाएको छ हामीले पाएका छैनौ। जिमको समान पुरानो भएको छ जसलाई फेर्न अनुरोध गरेका थियौं।”

मल्लले कारवाही पछि कस्तो कदम चाल्ने बारे सल्लाह गरिरहेको बताए – “अब यसको हामि सल्लाह गर्छौँ, कारवाहीको प्रक्रिया के हो भनेर हामि सल्लाह गर्दैछौं। त्यो बाहेक खेल्ने कुरा रोक्छौ भनेको हैन। यसलाई पुनर्विचार गर्न फेरी एक पटक अनुरोध गर्छौं। यत्रो वर्ष क्रिकेट खेल्दा सत्य बोल्दा कारवाही गरिन्छ भने वहाँहरुले नखेल भनेर इनडाइरेक्टलि भनेको जस्तो लाग्छ। हामि तलब दिंदैनौ, ६ महिना कारवाही भएको हिसाबले। तर पनि हामि सधै नेपालको लागि खेल्न चाहन्छौ त्यसको लागि राम्रो वातावरण र माहोल बनोस भन्ने इच्छा हो।”

आगामी साता ( डिसेम्बर २१ तारिख ) नेपाली क्रिकेट टिमले पोखरामा थाल्ने बन्दप्रशिक्षणमा सहभागी हुने मल्लले बताए-“हामि सहभागी हुन्छौ। हामि खेल्ने कुरा हो र एउटा खेलाडीको रुपमा हामीलाई राम्रो वातावरण गर्यो भने हामि नखेल्ने भन्दैनौ।”

उनले नवनियुक्त कप्तान सन्दिप लामिछानेसंग क्यानको पछिल्लो निर्णयपछि कुराकानी नभएको बताउदै सन्दिपलाई शुभकामना दिए- “उ अस्ट्रेलियामा खेली रहेको छ र यो विषयमा कुरा भएको छैन। जुन विषयमा छलफल भएको थियो वहाँ आउन सक्नु भएन भन्नु भएको थियो।

“राम्रो गर्नु, बोर्डले कप्तान चुनेको छ, राम्रो गरेर नेपाललाई अझ यो भन्दा माथि लिड गर्नुस त्यो नै शुभकामना हो।” मल्लले बताए।

के भएको थियो ?

क्यानको बुधबार बसेको बोर्ड बैठकले अनुशासन उल्लङ्घन गरेको बताउदै ज्ञानेन्द्र मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पद मुक्त गरेको थियो। क्यानले गठन गरेको अनुशासन उल्लङ्घन सम्बन्धि गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडीहरु मल्ल र ऐरी सहित सोमपाल कामि र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने समेत क्यानले निर्णय गरेको थियो।

नेपाल क्रिकेट संघले असोजमा गरेको ( अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको ) खेलाडी वर्गीकरण चित्त नबुझेपछि ज्ञानेन्द्र सहित, सोमपाल, दिपेन्द्र र कमलले क्यानसंग असन्तुष्टि व्यक्त नगरेर सोझै मिडियामा ( सेतोपाटिमा) बोलेका थिए। सोमपाललाई वर्गीकरणमा ‘बि’ श्रेणीमा राखिएको, रोहितलाई वर्गीकरणमा नराखिएकोमा उनीहरु असन्तुष्ट थिए। यस्तै उनीहरुले वर्गीकरणमा १८ जना खेलाडीलाई मात्र राखिएकोमा समेत उनीहरुले असन्तुष्टि पोखेका थिए।

वर्गीकरणमा असन्तुष्टि पोख्दै मिडियामा वक्तव्य दिएपछि चार खेलाडीहरुलाई क्यानले स्पष्टीकरण सोधेको थियो। खेलाडीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि क्यानले दोश्रो पटक पनि स्पष्टीकरण सोधेको थियो। दोश्रो पटक पनि स्पष्टीकरण चित्तबुझ्दो नभए पछि क्यान कारवाहीको दिशामा अघि बढेको थियो। खेलाडीहरुले माफी माग्नुको सट्टा क्यानलाई ११ बुंदे माग प्रस्तुत गरेका थिए।

क्यानको वर्गीकरण ( अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको ) अनुसार ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, करन केसी, दिपेन्द्र ऐरी र पारस खड्का , ग्रेड ‘बि’ मा सोमपाल कामि, शरद भेसावकर, बिनोद भण्डारी, कुशल मल्ल, अविनाश बोहरा , सुशन भारि तथा ग्रेड ‘सी’ मा कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आसिफ शेख, सन्दिप जोरा, शाहब आलम र पवन सर्राफ थिए। ए, बि र सी ग्रेडका खेलाडीले क्रमसः मासिक ५०, ४० र ३० हजार रुपैयाँ तलब पाउने गर्छन्।

क्यानले खेलाडी वर्गीकरणको लागि बनाएको मापदण्डमा अन्तर्राष्ट्रिय सहभागितालाई २५ अंक, घरेलु सहभागितालाई १० अंक, खेलाडीको प्रदर्शनलाई ४० अंक, टिमलाई दिएको योगदानलाई ५ अंक, फिटनेसलाई ५ अंक, स्थायीत्वलाई ५ अंक र अनुशासन लगायतका क्रियाकलापलाई ५ अंक दिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy