कप्तान बनेपछि सन्दिप भन्छन् – “अतिरिक्त जिम्मेवारीको महसुस भएको छ।”

२०७८ पुष २, शुक्रबार १६:२२

Sandeep Lamichhane

नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारवाही गर्दै कप्तानबाट हटाएपछि राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका सन्दिप लामिछानेले पहिलो पटक प्रतिक्रिया दिंदै अतिरिक्त जिम्मेवारीको महसुस भएको बताएका छन्। हाल बिग ब्यास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका सन्दिपले कान्तिपुर दैनिक संग कुराकानीमा पहिलो पटक आफ्नो धारणा प्रस्तुत गरेका हुन्।

“अतिरिक्त जिम्मेवारीको महसुस भएको छ। यस्तो टिम र प्रतिभाले भरिएको टोलीको नेतृत्व गर्न पाउनु राम्रो अवसर हो।” सन्दिपले बताए।

२१ वर्षीय सन्दिपले यस अघि सन् २०१७ मा यु-१९ राष्ट्रिय क्रिकेट टिम तथा त्यसपछि तिन वर्ष अघि पोखरा प्रिमियर लिगमा बिराटनगर किंग्सको तथा यो वर्ष एभरेस्ट प्रिमियर लिगमा काठमाडौँ किंग्स एघारको कप्तानी सम्हालेका थिए। उनले कप्तानी आफ्नो लागि नौलो नभएको तर राष्ट्रिय टिमको कप्तानी गर्नु चुनौतिपूर्ण रहेको बताए –

“मेरा लागि यो नौलो कुरा थिएन, केही समयदेखि नै म तयार हुँदै आएको थिएँ । यो कठिन परीक्षण हो । तर, म यसको प्रतीक्षामा छु । घरेलु क्रिकेटमा कप्तानी गर्नु र राष्ट्रिय टोलीको कप्तानी गर्नुमा ठूलो फरक र चुनौतीपूर्ण पनि छ।”

उनले क्यान र खेलाडी बीचको विवाद तथा कारवाहीको घटनाक्रम नियालिरहेको र त्यसबाट अघि बढ्नु महत्वपूर्ण रहेको बताए- “मैले यो घटनाक्रम पछिल्लो केही सातादेखि हेर्दै आएको छु । यो सबै हेर्दा निकै दुःख लाग्छ। म नेपाल आएपछि समस्या समाधानका लागि केही छलफल हुन्छ भने त्यसका लागि तयार छु ।”

उनले नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके र क्यानसंग कप्तानीको सन्दर्भमा कुराकानी भएको बताए – “यस सन्दर्भमा क्यान र पुबुदु सरसँग पनि कुराकानी भयो । एसोसिएट क्रिकेट र नेपाली क्रिकेट बुझेका व्यक्तिलाई प्रशिक्षक बनाउँदा मलाई पनि कप्तानी गर्न सजिलो हुन्छ होला ।”

उनले कप्तानको रुपमा नेपाललाई विश्वकपमा पुर्याउने लक्ष्य राखेको बताए – “एकपटकमा म एउटा कुरा सोच्नमा विश्वास गर्छु । अहिलेलाई म ग्लोबल छनोटका बारेमा सोचिरहेको छु । त्यहाँबाट नेपाललाई विश्वकपमा पुर्‍याउनु छ । म कहिल्यै दबाब महसुस गर्दिनँ । क्रिकेट सुन्दर खेल हो, यो सुन्दर खेलमा रमाउन सकियो भने त्यहीअनुसार आनन्द पाइन्छ । मेरो चासो भनेको अरू खेलाडीबाट पनि कसरी उत्कृष्ट निकाल्ने र नेपाली क्रिकेटलाई अर्को स्तरमा लाने हो ।”

नेपालले आगामी वर्ष फेब्रुअरी १५ देखि ओमानमा आयोजना हुने टि-२० विश्वकपको ग्लोबल छनोट ‘ए’ खेल्दैछ। प्रतियोगिताको लागि नेपालले डिसेम्बर २१ तारिख देखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्नेछ। सन्दिप बिग ब्यास लिग खेलीसकेपछि जनवरी अन्तिममा नेपाल आइपुग्नेछन्।

सन्दिपले नेपालको लागि सन् २०१६ मा डेब्यु गरेपछि १६ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा ४१ तथा टि-२० अन्तर्राष्ट्रियमा ४७ विकेट लिएका उनि दुवै फर्म्याटमा नेपालको सर्वाधिक विकेटकर्ता हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy