प्रशिक्षक पुबुदु नआईपुग्दा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सर्यो

२०७८ पुष ६, मंगलवार १७:३८

Pubudu Dassanayake

प्रशिक्षक पुबुदु दासानायेके ढिला नेपाल आइपुग्ने भए पछि नेपाली राष्ट्रिय क्रिकेट टिमको पोखरामा सुरु हुने घोषित बन्द प्रशिक्षण मंगलबार सुरु हुन पाएन। डिसेम्बर २१ ( पुष ६ ) बाट यस अघि पोखरा बन्द प्रशिक्षण सुरु हुने क्यानले बताएको थियो।

पुबुदुको श्रम स्वीकृतिको प्रक्रिया मंगलबार मात्र सकिएको छ। उनि शुक्रबार क्यानडाबाट नेपाल प्रस्थान गर्नेछन् जसपछि बन्द प्रशिक्षण सुरु हुने नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी गराए।

मल्लका अनुसार बन्द प्रशिक्षणमा २४ जना खेलाडीहरु हुनेछन्। खेलाडीहरुको नाम बुधबार घोषणा हुने उनले जानकारी गराए। क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरीलाई पनि समाबेश गरेर क्यानले प्रारम्भिक टिमको घोषणा गर्नेछ। ६ महिना कन्ट्रयाक्ट रद्द गरेता पनि खेलाडीहरुलाई खेल्न भने क्यानले रोक लगाएको छैन।

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल क्वालीफायर खेल्ने भएको छ।

टि-२० विश्वकप २०२२ मा कुल १६ टोलि सहभागी हुँदैछन् जसको लागि १२ टोलिको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश सुपर-१२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। ग्लोबल क्वालीफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालीफायर ‘बि’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालीफायरमा उत्कृस्ट हुने दुई/दुई टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्।

ओमानमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘ए’ मा नेपाल सहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्याण्ड, युएई, जर्मनी, क्यानडा, बहराईन र फिलिपिन्स सहभागी हुनेछन्। यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वे सहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम थाहा हुनेछ।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy