ऐरीको उत्कृस्ट अर्धशतक, ओमान बिरुद्ध नेपालको शानदार जित

२०७८ माघ २८, शुक्रबार २०:१८

दिपेन्द्र ऐरीले शानदार ब्याटिंग गर्दै अर्धशतक बनाउदा ओमानलाई पराजित गर्दै नेपालले चार देशीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ। नेपालले ओमानलाई टि-ट्वान्टी अन्तर्राष्ट्रियमा पराजित गरेको यो नै पहिलो पटक हो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १३६ रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर भेटायो। स्कोरकार्ड 

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन बनाए जुन क्रममा उनले अविजित रहंदा ५३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्रको यो टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक स्कोर हो भने दोश्रो अर्धशतक हो। दिपेन्द्रले यस अघि गत वर्ष घरेलु सिरिजमा नेदरल्याण्ड बिरुद्ध ६० रन बनाएका थिए।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो रहेन। चौंथो ओभरमा आसिफ शेख र प्रदिप ऐरीलाई कलेमुल्लाहले क्याच आउट पारे। तेश्रो विकेटको लागि ज्ञानेन्द्र र दिपेन्द्रले ४० रन जोडे। एघारौं ओभरमा मल्ललाई आयान खानले रन आउट पारे। चौंथो विकेटको लागि दिपेन्द्र र आरिफले ४५ रन जोडे। अठारौं ओभरमा आरिफलाई खवर अलिले क्याच आउट पारे। त्यसपछि ऐरी र शरद भेसावकरले ३० रनको साझेदारी गर्दै जितसम्म डोर्याए। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक हुँदा दिपेन्द्रले पहिलो र दोश्रो बलमा चौका प्रहार गरे।

शरदले अविजित ४ रन बनाए। यस अघि आरिफ शेखले २५, आसिफ शेखले १४ तथा ज्ञानेन्द्र मल्लले १३ रन योगदान दिए।ओमानको बलिंगमा कलेमुल्लाहले २ विकेट ( ४-०-२४-२ ) तथा खवर अलिले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ६ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४३ रन बनाए तथा मोहम्मद नदीमले ३१ रन योगदान दिए।

नेपालको सुरुवात उत्कृस्ट रह्यो। पावरप्लेको ६ ओभर भित्र नेपालले कश्यप प्रजापति ( ११ ) , जतिन्दर सिंह ( १३ ) र आयान खान ( ११ ) को विकेट लियो। पहिलो ६ ओभरमा ओमानले ४३ रन बनाउदा ३ विकेट गुमायो जुन क्रममा अविनाश बोहरा, आरीफ शेख र कमल सिंह ऐरीले विकेट दिलाए। त्यसपछि दशौँ ओभरमा कप्तान सन्दिपले ११ रन बनाएका शोयब खानलाई पेभेलियन फर्काए। ५८/४ को अवस्थाबाट पाँचौ विकेटको लागि कप्तान मक्सुद र नदीमले ६१ रनको साझेदारी गरे। नदीमलाई अठारौं ओभरमा अविनाश बोहराले क्याच आउट गराए। मक्सुदले अन्तिमसम्म ब्याटिंग गरे।

नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। कमल सिंह एरि ( ४-०-२५-१ ) , आरिफ शेख ( १-०-२-१ ) र सन्दिप लामिछानेले ( ३-०-१७-१ ) समान एक विकेट लिए। डेब्यु गरेका सागर ढकालले ३ ओभरमा ३६ रन खर्चेर विकेटविहिन रहे।

सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले शनिवार युएईसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy