नेपालको दोश्रो खेल आज युएईसंग, के छ हेड टु हेड नतिजा, कुशल खेल्छन् या खेल्दैनन् ?

२०७८ माघ २९, शनिबार ०९:३०

ओमानमा जारि चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज नेपालले आफ्नो दोश्रो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो। युएईले आज पहिलो खेल खेल्दैछ।

नेपाल र युएई बीचको खेल अल अमिरात क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय ११:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ भने युट्युबमा OsrSports तथा दराज एप बाट समेत हेर्न सकिनेछ। यस्तै फेसबुकमा Sports Eye तथा युट्युबमा CricTracker च्यानलबाट ( नेपाल बाहिर ) तथा सशुल्क फ्यानकोड एपबाट ( नेपाल बाहिर ) समेत प्रत्यक्ष प्रशारण हेर्न सकिने छ।

सिरिज अघि खेलिएको विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युएईले ओमानलाई तिन मध्ये दुई खेलमा पराजित गरेको थियो भने एउटा खेल बराबरी भएको थियो। बलियो ओमानलाई पराजित गरेको युएई उच्च लयमा छ जसलाई रोक्नु नेपालको लागि सहज पक्कै हुनेछैन।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल १२ औं स्थानमा छ भने युएई १५ औं स्थानमा छ। दुई देश बीच हालसम्म तिन पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भेट भएको छ जसमा नेपाल दुई खेलमा तथा नेपाल एक खेलमा विजयी भएका छन्।

हेड टु हेड : नेपाल र युएईले पछिल्लो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २०१९ जनवरी/फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए। नेपालले युएई भ्रमणमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल २-१ ले विजयी भएको थियो। पहिलो खेलमा युएई २१ रनले विजयी ( स्कोरकार्ड ) भएको थियो जसपछि दोश्रो ( स्कोरकार्ड ) र तेश्रो खेल ( स्कोरकार्ड ) नेपालले क्रमशः ४ विकेट र १४ रनले जितेको थियो।

कुशल भुर्तेलको अपडेट, दोश्रो खेलमा हुनसक्ने परिवर्तन : सिरिजको पहिलो खेलमा नेपालले कुशल भुर्तेल, करन केसी, शाहब आलम, जितेन्द्र मुखिया, कुशल मल्ल र लोकेश बमलाई बाहिर राखेको थियो। करन र मुखिया बाहिर हुँदा नेपाल एक जना फास्ट बलर कम लिएर मैदान उत्रेको थियो। टि-२० विश्वकप छनोटको लागि सहि कम्बीनेसन तयार गर्नु पर्ने हुनाले युएई बिरुद्ध नेपालले टिममा खेलाडीहरु परिवर्तन गर्ने पक्का छ।

पहिलो खेल नखेलेका ओपनर कुशल भुर्तेलले दोश्रो खेल पनि गुमाउनेछन्। उनि शत प्रतिशत फिट नहुँदा आयरल्याण्डसंग सोमबारको खेल मात्र खेल्नेछन्। यस्तै फास्ट बलर जितेन्द्र मुखिया र करन केसी दुवै या दुई मध्ये एकजनाले मौका पाउनेछन्। आक्रामक ब्याट्सम्यान लोकेश बम या देब्रे हाते स्पिनर शाहब आलम मध्ये एकलाई पनि टिमले आज मौका दिन सक्नेछ। पहिलो खेलमा अर्का देब्रे हाते स्पिनर सागर ढकाल महँगो सावित भएका थिए जसलाई बाहिर राख्ने सम्भावना छ। त्यसो भएको खण्डमा टिमले कसलाई बाहिर राख्नेछ भने हेर्न लायक हुनेछ। प्रदिप ऐरीले सुस्त ब्याटिंग गरेको हुँदा तथा कुशलको अभावमा माथिल्लो क्रममा र पावरप्लेमा आक्रामक ब्याटिंग गर्ने ब्याट्सम्यानको अभाव लोकेशले पुरा गर्नेछन्।

नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल

युएई टिम : चिराग सुरी, मोहम्मद उस्मान, भृत्य अरभिन्द ( विकेटकिपर ) , रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, आलिशान शरफु, कार्तिक मैयेप्पन, जवर फरिद, जुनैद सिद्दिकी, बसिल हमिद, काशिफ दाउद, मुहम्मद वासिम, अकिफ राजा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy