भुर्तेल सहित पोलार्ड र पन्तलाई पछि पार्दै आईसीसी वरियतामा दिपेन्द्रको ठूलो फड्को

२०७८ फाल्गुन ५, बिहीबार ०७:०६

Dipendra Airee

ओमान भ्रमण अन्तर्गत चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रनकर्ता बनेका दिपेन्द्र ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्।

सिरिजमा उत्कृस्ट लयमा देखिएका ऐरीले ३ खेलमा १४२ रन बनाएका थिए जुन क्रममा ओमान बिरुद्ध जितमा अविजित ७३ रन तथा युएईसंग ४१ तथा आयरल्याण्डसंग २८ रन बनाएका थिए।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियता अनुसार ब्याटिंगतर्फ दिपेन्द्र करियरकै उच्च ५२ औं स्थानमा छन्। उनले करियरकै उच्च ४४३ रेटिंग अंक पनि पाएका छन्।

ओमान भ्रमण अघि दिपेन्द्र शिर्ष सय भित्र थिएनन्। १०९ औं स्थानमा सिरिज अघि रहेका उनले वरियतामा ५७ स्थान फड्को मारेका हुन्। यस क्रममा उनले ६५ औं स्थानमा रहेका नेपालकै कुशल भुर्तेल सहित भारतका सुर्यकुमार यादव ( ५६ ) र रिशभ पन्त ( ५९ ) ,वेस्टइन्डिजका काईरन पोलार्ड ( ६३ ) , ओमानका जिशान मक्सुद ( ६४ ) , वेस्टइन्डिजका शिमरन हेटमायर ( ६६ ) , बंगलादेशका शाकिब अल हसन ( ६८ ) लाई समेत पछि पारेका छन्।

भुर्तेल गत वर्ष नेदरल्याण्ड र मलेसिया बिरुद्धको सिरिजमा उत्कृस्ट प्रदर्शन गरेपछि ६१ औं स्थानमा उक्लेका थिए। चार देशीय सिरिजमा भुर्तेलले आयरल्याण्डसंग एक मात्र खेल खेल्न पाए।

दिपेन्द्रको वरियता क्रम ( ५२ ) नेपाली खेलाडीले टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा हाँसिल गरेको दोश्रो उच्च वरियता हो। सबै भन्दा उच्च ब्याटिंग वरियतामा पुग्ने नेपाली खेलाडी पारस खड्का हुन् जसले २०१९ मा सिंगापुरमा शतक बनाएपछि ४२ औं स्थानमा पुगेका थिए।

ओमान भ्रमणमा खराब फर्ममा रहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने वरियताको शिर्ष सय बाट बाहिर भएका छन्। उनि १०७ औं स्थानमा छन्। चार देशीय सिरिजमा मल्लले तिन खेलमा ४० रन मात्र बनाउन सके जुन क्रममा ओमानसंग १३, युएईसंग २२ तथा आयरल्याण्डसंग ५ रन बनाए।

आईसीसीको बलिंग वरियतातर्फ शिर्ष सय भित्र कप्तान सन्दिप लामिछाने मात्र छन् जो ६३ औं स्थानमा छन्। ओमान भ्रमणमा तिन खेल खेल्दा तिन विकेट लिएका सन्दिपले वरियतामा सुधार गरेका हुन्। गत वर्ष अप्रिलमा नेदरल्याण्ड, मलेसियासंगको सिरिज पछि उनि ७६ औं स्थानमा थिए।

बलिंग वरियतामा अविनाश बोहरा पनि शिर्ष सय नजिक पुगेका छन्। उनि हाल १०४ औं स्थानमा छन्। चार देशीय सिरिजमा बोहराले दुई खेलमा ५ विकेट लिए जुन क्रममा ओमनासंग तिन विकेट, आयरल्याण्डसंग २ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy