फिलिपिन्स बिरुद्ध नेपाल जित्दा बनेका ११ ठूला कीर्तिमान

२०७८ फाल्गुन ८, आईतवार १०:२१

ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गर्यो। नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ८२ रन मात्र बनाउन सक्यो। खेलमा बनेका १० ठूला कीर्तिमानहरु यस प्रकार छन् –

१. कुशलद्वारा विश्वकीर्तिमान बराबरी : कुशलले नेपालको लागि मात्र ८ इनिंग्समा ब्याटिंग गर्दा पाँचौ पटक ५० भन्दा माथिको स्कोर बनाउदै इंग्ल्यान्डका डेविड मलान र जिब्राल्टरका लुइस ब्रुसको विश्वकीर्तिमान बराबरी गरेका हुन्। ब्रुस र मलानले पनि पहिलो पाँचवटा पचास माथिको स्कोर पहिलो ८ इनिंग्समै पुरा गरेका थिए। ब्रुस, मलान र कुशल संयुक्त रुपमा विश्वकै सबैभन्दा छिटो पाँचवटा ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। यी तिन ब्याट्सम्यान पछि सबैभन्दा छिटो पाँच वटा ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान भारतका गौतम गम्भीर र श्रीलंकाका कुशल परेरा हुन् जसले १२ इनिंग्स लगाएका थिए।

२. तेश्रो विकेटको लागि विश्वकै तेश्रो उच्च साझदारी : कुशल भुर्तेल र दिपेन्द्र ऐरी बीचको तेश्रो विकेटको लागि १७१ रनको साझेदारी टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै तेश्रो ठूलो साझेदारी हो। तेश्रो विकेटको लागि विश्वकै सर्वाधिक साझेदारीको रेकर्ड न्युजिल्यान्डका डेभोन कनवे र ग्लेन फिलिप्सको नाममा छ जसले वेस्टइन्डिज बिरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए। दोश्रो ठूलो साझेदारी इंग्ल्यान्डका डेविड मलान र ओएन मोर्गनले २०१९ मा न्युजिल्यान्ड बिरुद्ध १८२ रन बनाएका गरेका थिए।

३. कुनै पनि विकेटको आठौँ उच्च साझेदारी : यस्तै कुशल र दिपेन्द्रको साझेदारी कुनै पनि विकेटको लागि विश्वकै संयुक्त रुपमा आठौं ठूलो साझेदारी हो। न्युजिल्यान्डका मार्टिन गप्टिल र केन विलियमसनले पाकिस्तान बिरुद्ध २०१६ मा १७१ रनको ओपनिंग साझेदारी गरेका थिए।

४. नेपालको सबैभन्दा उच्च साझेदारी :
कुशल र दिपेन्द्रको १७१ रनको साझेदारी नेपालको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर बिरुद्ध दोश्रो विकेटको लागि १४५ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।

५. विदेशी भूमिमा सबैभन्दा ठूलो जित : फिलिपिन्स बिरुद्ध १३७ रनको जित विदेशी भूमिमा नेपालको सर्वाधिक रनअन्तरको जित हो भने समग्रमा टि-२० अन्तर्राष्ट्रियमा तेश्रो ठूलो रन अन्तरको जित हो।

६. विदेशी भूमिमा सबैभन्दा उच्च योगफल :
नेपालले बनाएको २१८ रन टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विदेशी भूमिमा नेपालको सर्वाधिक टिम योगफल हो। यस अघि नेपालको विदेशी भूमिमा सर्वाधिक स्कोर १७३ रन थियो जुन २०१९ मा मलेसिया बिरुद्ध बनाएको थियो।

७. दिपेन्द्रको नयाँ कीर्तिमान : खेलमा दिपेन्द्र ऐरीले बनाएको अविजित ८३ रन चौंथो नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले टि-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर हो। यस क्रममा ऐरीले आफ्नै रेकर्ड तोडेका हुन्। उनले ओमान बिरुद्ध भर्खरै सम्पन्न चार देशीय सिरिजमा ओमान बिरुद्ध ७३ रन बनाएका थिए।

८. नेपालको तेश्रो उच्च योगफल : फिलिपिन्स बिरुद्ध नेपालको योगफल ( २१८/३ ) टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो सर्वाधिक टिम योगफल हो। नेपालको सर्वाधिक योगफल नेदरल्याण्ड बिरुद्ध २३८ रन हो भने दोश्रो ठूलो योगफल भुटान बिरुद्धको २३६ रन हो।

९. कुशलको तेश्रो उच्च स्कोर : यस्तै कुशल भुर्तेलले खेलमा बनाएको १०४ रन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको तेश्रो उच्च स्कोर हो भने तेश्रो शतक हो। ज्ञानेन्द्र मल्लले भुटान बिरुद्ध २०१९ मा बनाएको १०७ रन तथा पारस खड्काले सिंगापुर बिरुद्ध २०१९ मा बनाएको अविजित १०६ रन कुशल भन्दा उच्च स्कोर हो। कुशल, मल्ल र पारसले शतक बनाउदा सबैले ओपनिंग ब्याटिंग गरेका थिए।

१०. फिलिपिन्स बिरुद्ध सबैभन्दा ठूलो जित : १३६ रनको जित टि-२० अन्तर्राष्ट्रियमा फिलिपिन्स बिरुद्ध कुनै पनि देशले हात पारेको सबैभन्दा ठूलो रन अन्तरको जित हो। पपुवा न्यु गिनीले २०१९ मा फिलिपिन्सलाई १३३ रनले हराएको थियो जुन रेकर्ड नेपालले तोडेको हो।

११. सन्दिपको कीर्तिमान : सन्दिपको स्पेल ( ४-०-९-३ ) फिलिपिन्स बिरुद्ध हालसम्मकै उत्कृस्ट बलिंग स्पेल हो। यस अघि भानुआटुका एन निपिकोले २०१९ मा ३ विकेट लिंदा २ ओभरमा १६ रन खर्चेका थिए जुन कीर्तिमान सन्दिपले तोडेका हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy