श्रीलंका भ्रमण : नेपालको दोश्रो जित, पवन र दिपेन्द्रको उच्च प्रदर्शन

२०७८ फाल्गुन २४, मंगलवार १७:५९

श्रीलंका भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा पनि नेपाली क्रिकेट टिमले श्रीलंका नेभीलाई ८१ रनले पराजित गरेको छ। पराजित गरेको छ। पहिलो खेलमा पनि नेपाल १११ रनले विजयी भएको थियो।

दोश्रो खेलमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभीले ३०.५ ओभरमा ११५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने दिपेन्द्र ऐरीले २ विकेट लिए भने बिक्रम सोब, सन्दिप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४३.४ ओभरमा १९६ रन बनाएको थियो।

खराब सुरुवात गरेको नेपालको शिर्षक्रमका ब्याट्सम्यानहरु लामो समय क्रिजमा जम्न सकेनन्। निकै खराब लयमा रहेका ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल ३ रन, रोहित पौडेल ८ रन तथा बिनोद भण्डारी २ रन बनाएर आउट भए। नेपालले ३० रन बनाउदा ४ विकेट गुमाउन पुग्यो।

त्यसपछि दिपेन्द्र ऐरीले पवन सर्राफसंग अर्धशतकीय साझेदारी गरे। पवन सर्राफ २२ रन बनाएर आउट भए जसपछि दिपेन्द्रले अर्धशतक पुरा गरे। ६३ रन बनाएर दिपेन्द्र आउट भए। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। भिम शार्कीले २८ तथा बिबेक यादवले २६ रन बनाए। कप्तान सन्दिप लामिछाने १४ रनमा अविजित भए भने सागर ढकाल ८ तथा बिक्रम सोब १ रन बनाएर आउट भए।

भ्रमण अन्तर्गत नेपालले हिजो पहिलो खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। नेपालले पहिले ब्याटिंग गर्दै दिएको २१५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभीले २८.५ ओभरमा १०३ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

नेपालले भ्रमणमा ४ वटा अभ्यास खेल खेल्नेछ। यस पछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy