करनको शानदार अलराउण्ड प्रदर्शनमा नेपालको लगातार तेश्रो जित

२०७८ फाल्गुन २६, बिहीबार १७:४८

करन केसीले शानदार अलराउण्ड प्रदर्शन गरेपछि आईसीसी विश्वकप लिग-२ को तयारीको क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा पनि जित दर्ता गरेको छ।

श्रीलंका पुलिस बिरुद्ध १४४ रनको विशाल जित दर्ता गर्ने क्रममा नेपालले दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोलिले ३६.५ ओभरमा १८७ रनमा सम्पूर्ण विकेट गुमायो। नेपालले पहिलो खेलमा श्रीलंका नेभीलाई १११ रनले तथा दोश्रो खेलमा श्रीलंका नेभीलाईनै ८१ रनले पराजित गरेको थियो।

लक्ष पछ्याउने क्रममा श्रीलंका पुलिसले ७९ रन बनाउदा ७ विकेट गुमाएको थियो। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानले रन बनाएता पनि जित्न पर्याप्त रहेन।

नेपालको बलिंगमा दायाँ हाते पेसर करन केसीले सर्वाधिक ४ विकेट लिए। कप्तान सन्दिप लामिछाने र सागर ढकालले समान २ विकेट तथा कमल सिंह ऐरीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट क्षतिमा ३३१ बनाएको थियो।

नेपालको ब्याटिंगमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख, रोहित पौडेल तथा करन केसीले अर्धशतकीय योगदान दिए। रोहितले सर्वाधिक ७२ रन बनाए भने कुशलले ५७, करनले अविजित ५३ तथा आसिफले ५२ रन बनाए। यस्तै कमल सिंह ऐरीले अविजित ४५ तथा आरिफ शेखले ३५ रन बनाए। बिनोद भण्डारी र पवन सर्राफले समान ३ रन तथा भिम शार्कीले २ रन बनाए।

२३४/७ को अवस्थामा रहेको नेपालको इनिंग्सलाई आठौँ विकेटको लागि उत्कृस्ट साझेदारी गर्दै करन र कमलले अघि बढाएका थिए। दुवैले अविजित रहँदै योगफल तिन सय पार गराए।

खेलमा नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , करन केसी, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, बिनोद भण्डारी, सागर ढकाल, रोहित पौडेल, भिम शार्की, पवन सर्राफ, आरिफ शेख

भ्रमण अन्तर्गत नेपालले शुक्रबार श्रीलंका मिश्रित एघार बिरुद्ध अन्तिम अभ्यास खेल खेल्नेछ। उपुल थारांगा, थिसारा परेरा, धम्मिका प्रसाद, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, दिल्शान मुनविरा र सन्दुन विराक्कोडी जस्ता श्रीलंकन राष्ट्रिय क्रिकेटरहरु नेपाल बिरुद्ध खेल्नेछन्। खेल नेपाली समय १०:१५ बजे देखि सुरु हुने बताईएको छ।

भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy