विश्वकप लिग -२ : लगातार चौध हार पछि पपुवा न्यु गिनीको पहिलो जित

२०७८ चैत्र ५, शनिबार १८:०८

युएईलाई ६ विकेटले पराजित गर्दै पपुवा न्यु गिनीले आईसीसी विश्वकप लिग-२ मा पहिलो जित दर्ता गरेको छ।

लगातार चौध खेलमा हार पछि पन्ध्रौँ खेलमा पपुवा न्यु गिनीले पहिलो जित दर्ता गरेको हो। सिरिजको पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग ७ विकेटले तथा नेपालसंग २ विकेटले पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा युएईले दिएको १४८ रनको लक्ष्य पपुवा न्यु गिनीले ४ विकेट क्षेतीमा ३६.२ ओभरमा भेटायो।

पपुवा न्यु गिनीको जितमा कप्तान असद भालाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ९७ बलमा ६ चौका प्रहार गरे। यस्तै चार्ल्स अमिनीले ३६ रन बनाए। भाला र अमिनीले तेश्रो विकेटको लागि ७१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

टस जितेर ब्याटिंग गरेको युएईले ५० ओभरमा १४७ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

१६ रनमै ५ विकेट गुमाएको युएईको इनिंग्स रोहन मुस्तफाले उकासेका थिए। मुस्तफाले बसिल हमिदसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरे। त्यसपछि पुनः लगातार विकेट गुमाएको युएई ७७/९ को अवस्थामा पुग्यो। दशौँ विकेटको लागि मुस्तफाले जहुर खानसंग ७० रनको साझेदारी गरे। एकदिवसीय क्रिकेट इतिहासमै दशौँ विकेटको लागि यो आठौँ उच्च साझेदारी हो।

१४४ बलमा ११ चौका र १ छक्का मद्दतले ८८ रन बनाएका मुस्तफा अन्तिम बलमा आउट भए। बसिल हमिदले २० रन बनाए।

पपुवा न्यु गिनीका बलर अले नाओले ४ विकेट, चाड सोपरले ३ विकेट तथा राइली हेकुरेले २ विकेट लिए।

सिरिज अन्तर्गत पाँचौ खेल नेपाल र युएई बीच मार्च २१ तथा छैठौं खेल पपुवा न्यु गिनी र नेपाल बीच मार्च २२ तारिखमा हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy