यु-१९ महिला राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

२०७८ चैत्र ८, मंगलवार ०८:५२

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन्। पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो। १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६३ रनको अविजित साझेदारी गरिन्। सुदूरपश्चिमका लागि मनीषाले व्यक्तिगत ३०, अनु कठायतले २७ र यशोदाले ११ रन बनाइन्। बलिङतर्फ लुम्बिनीकी शुस्मिता भुसालले १ विकट लिइन्।

त्यसअघि पहिलो इनिङमा लुम्बिनीकी जिज्ञासा थापाले ३२, रन्जु श्रेष्ठले २५, आस्मा पुलामी मगरले १६ र यमुना थारुले अविजित १५ रन बनाइन्। बलिङतर्फ सुदूरपश्चिमकी मनीषा चौधरी, जानकी थापा र स्नेहा महराले समान १/१ विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी मनिष घोषित भइन्।

आजै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो। ६८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो। कर्णालीको जितमा तिर्सना विश्वकर्माले अविजित २२ रन बनाइन । उसकी किरण कुमारी कुँवर १७ रन बनाएर रन आउट हुन पुगिन्।

त्यसअघि बागमतीका लागि हेलिसा गुरुङले अविजित ३४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक बन्न सकेन। बलिङतर्फ कर्णालीकी एन्जिला थापा र विना थापाले समान २/२ तथा श्रीमा सिं थारु र तिर्सना विश्वकर्माले समान १/१ विकेट लिइन्। खेलको प्लेयर आफ दी म्याच तिर्सना चुनिइन।

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए। ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।

( साभार  – दिनेशखबर )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy