ग्रेट हिमालयले देशभर ट्यालेन्ट हन्ट र प्रशिक्षण क्याम्प आयोजना गर्दै

२०७९ बैशाख २०, मंगलवार ११:३२

काठमाडौँ स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशभर क्रिकेट प्रशिक्षण क्याम्प र प्रतिभा खोजि ( ट्यालेन्ट हन्ट ) कार्यक्रम गर्ने भएको छ।

पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बैशाख २१ गते बुधबार देखि बैशाख २७ गते सम्म पहिलो चरणमा प्रदेश नम्बर-१, मधेश प्रदेश र बागमती प्रदेशका बिभिन्न शहरहरुमा कार्यक्रम गर्नेछ। बैशाख २१ गते झापा र बिराटनगरमा, २२ गते राजविराजमा, २३ गते लाहान र जनकपुरमा, २४ गते मलंगवामा, २५ गते गौरमा, २६ गते कलैया र बिरगंजमा तथा २७ गते हेटौडामा कार्यक्रम हुनेछ।  त्यसपछि दोश्रो चरणमा पश्चिम क्षेत्रमा कार्यक्रम संचालन गरिनेछ। जेठ २ गते देखि सुरु हुने दोश्रो चरणमा धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङ्गजा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगरमा कार्यक्रम आयोजना हुनेछ।

एकेडेमीका नवनियुक्त श्रीलंकन प्रशिक्षक मिहिराज वसन्था जयसेकराले प्रशिक्षण दिनुको साथै प्रतिभा पहिचान समेत गर्नेछन्। मिहिराज आईसीसीको लेभल-३ प्रशिक्षक हुन्। १५ वर्ष देखि प्रशिक्षण गर्दै आएका मिहिराज श्रीलंकन महिला क्रिकेट टिमको सहायक प्रशिक्षक रहीसकेका छन् भने भारतको चेन्नाईमा प्रशिक्षक डेभ व्हाटमोरसंगै चेन्नाई सेन्टर अफ स्पोर्ट्स साइन्समा काम गरिसकेको अनुभव छ। मिहिराजले श्रीलंका, युएई, भारत र इंग्ल्यान्डमा काम गरिसकेका छन्।

ट्यालेन्ट हन्टको दौरान चयन भएका उत्कृस्ट प्रतिभाहरुलाई एकेडेमीले पिनाकल कलेजसंगको सहकार्यमा निशुक्ल शिक्षा, क्रिकेट अभ्यास र होस्टलको सुविधा उपलब्ध गराउने छ। एसईई दिएर बसेका विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रवृत्ति समेत प्रदान गरिनेछ भने एकेडेमीमा समेत विशेष छुट दिईनेछ।

“ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हाल स्तरीय विदेशी प्रशिक्षक मिहिराज वसन्था नियमित प्रशिक्षक छन्। उनि यहाँ भएको अवसरमा देशभरिको क्रिकेटरलाई प्रशिक्षण र प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेका हौँ। आशा छ यो कार्यक्रमले लुकेर रहेका प्रतिभाहरु बाहिर आउनेछन् जसलाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र पिनाकल कलेजले छात्रवृत्ति प्रदान गर्नेछ।”  एकेडेमीका निर्देशक सुदिप शर्माले बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy