नवौं राष्ट्रिय खेलकुद असोजमा

२०७९ जेष्ठ १०, मंगलवार १६:४९

काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ ।

मन्त्रीपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय गरेकोले प्रतियोगिता पछि सारिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताउनुभयो । ‘प्रतियोगिता आयोजनाको तयारीका लागि समय प्रयाप्त भएन । नवौंका लागि सबन्धित बजेट कार्यन्वयनको अवधि समेत नपग्ने अवस्था भयो । यसअघि हामीले नवौं खेलकुद फास्ट ट्रयाकबाट गर्न खोजेका थियौं । तर सार्वजनिक खरिद ऐनलाई पालना गर्दा समय नपुग्ने देखियो,’ मन्त्री गहतराजले भन्नुभयो ।

मन्त्री गहतराजका अनुसार प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले समेत तयारीका लागि थप समय मागेको, स्थानीय तहको निर्वाचन तथा कक्षा ११ र १२ को परिक्षा समेत परेकोले प्रतियोगिता सार्नु परेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गरिने तयारी भएको नवौं राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनी सहित कूल ३८ खेल समावेश गरिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिमन्यास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, फुल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाईडिङ रहेको छ ।

ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र नारा भने यसअघि नै सार्वजनिक भएको छ । लोगोमा गण्डकी प्रदेशको र सिंगो नेपालकै प्रतिनिधित्व हुनेगरी माछापुच्छ्रे् हिमालसँगै नेपालको राष्ट्रिय झण्डा र विभिन्न रंगलाई समावेश गरिएको छ । मस्कटमा गण्डकी प्रदेशको चिनारीको रुपमा रहेको लोपोन्मुख जनावर कस्तुरी मृग रहेको छ । नवौँको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ ।

( साभार – गोरखापत्र )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy