उत्कृस्ट सुरुवातको बाबजुद मध्यक्रम नचल्दा सुदूरपश्चिम पराजित

२०७९ कार्तिक १४, सोमबार १६:२४

उत्कृस्ट सुरुवातका बाबजुद मध्यक्रमका ब्याट्सम्यानहरु विकेटमा जम्न नसक्दा सुदूरपश्चिमले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकीसंग हार बेहोरेको छ।

टियु मैदान कीर्तिपुरमा गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम एक समय १०१/१ को बलियो अवस्थामा थियो। कप्तान राजु रिजाल पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि मिलन बोहरा र गजेन्द्र बोहराले ९८ रनको साझेदारी गरे। तर ३५ रन बनाएका ओपनर गजेन्द्र बोहरालाई गण्डकी कप्तान बिपिन खत्रीले पेभेलियन फर्काएपछि भने सुदूरपश्चिमका ब्याट्सम्यानहरु तासको पत्तीजस्तै ढल्न पुगे। फलस्वरुप १०१/१ बाट थप ३८ रन योगफलमा थप हुँदा सुदूरपश्चिमले सम्पूर्ण विकेट गुमायो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका मिलन बोहराले अर्धशतक बनाएता पनि त्यसपछिका ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन्। बोहराले ६४ बलमा ३ चौका र १ छक्का मद्दतले ५१ रन बनाए।

गण्डकीको बलिंगमा देब्रे हाते स्पिनर कप्तान बिपिन खत्रीले ४ विकेट लिए। १० ओभरमा उनले ४३ रन खर्चिए। यस्तै सुबास भण्डारी र अभिषेक बस्नेतले २/२ विकेट तथा अमृत गुरुङ र कमल परियारले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा २०८ रन बनायो।

गण्डकीको लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ६३ रन योगदान दिए। उनले १०५ बलमा १० चौका प्रहार गरे। समिर कंडेलले २६ तथा बिधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन बनाए। सन्दिप क्षेत्रीले १९, बिपिन खत्री र कमल परियारले १३/१३ रन बनाए।

अर्जुनले समिरसंग ६८ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि बिधानसंग ४२ रन तथा तेश्रो विकेटको लागि अभिषेक बस्नेतसंग ३१ रनको साझेदारी गरे।

सुदूरपश्चिमका बलर कैलाश ऐर, नारायण जोशी र शेर मल्लले २/२ तथा नरेन साउदले १ विकेट लिए।

खेलको स्कोरकार्ड 

जितसाथ सुरुवात पछि समुह १ अंकतालिकामा गण्डकी २ अंक सहित शिर्षमा छ। एपीएफको पनि १ खेलमा २ अंक छ जो नेट रन रेटमा पछि छ। आर्मी र सुदूरपश्चिम अंकविहिन छन्। अंकतालिका , खेलतालिका र नतिजा 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy