अस्ट्रेलियाको जितमा फिंचको कप्तानी इनिंग्स, अंकतालिकाको के छ अवस्था

२०७९ कार्तिक १४, सोमबार १८:१२

कप्तान आरोन फिंचको उत्कृस्ट ब्याटिंग प्रदर्शन मद्दतले घरेलु टोलि अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आफ्नो चौंथो खेलमा आयरल्याण्डलाई पराजित गरेको छ।

ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८.१ ओभरमा १३७ रन मात्र बनाउन सक्यो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका लोर्कान टकरले अविजित ७१ रन बनाएता पनि उनलाई अर्को किनारमा गतिलो साथ नमिल्नु हारको कारण बन्यो।

२५ रनमा ५ विकेट गुमाएको अवस्थामा टकरले एक किनार सम्हाल्दै अन्तिमसम्म अविजित रहे। उनले छैठौं विकेटको लागि गेरेथ डेलानिसंग ४३ रनको साझेदारी गरे जुन इनिंग्समा सर्वाधिक रह्यो। डेलानिले १४ तथा पल स्टरलिंग र मार्क अडेरले ११/११ रन बनाए।

अस्ट्रेलियाको ब्लैंगमा प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले २/२ विकेट लिए। मार्कस स्टोइनिसले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट क्षेतीमा १७९ रन बनायो।

अस्ट्रेलियाको लागि कप्तान आरोन फिंचले ४४ बलमा ५ चौका र ३ छक्का मद्दतले ६३ रन बनाए। मार्कस स्टोइनिसले ३५, मिचेल मार्शले २८ तथा टिम डेभिडले अविजित १५ रन बनाए। फिंचले दोश्रो विकेटको लागि मार्शसंग ५२ रनको तथा चौंथो विकेटको लागि स्टोइनिससंग ७० रनको साझेदारी गरे।

आयरल्याण्डको बलिंगमा ब्यारी म्याकार्थीले ३ तथा जोश लिटिलले २ विकेट लिए।

अंकतालिका र आगामी खेल 

२ जित , १ हार र १ नतिजाविहिन खेलपछि अस्ट्रेलिया समुह ‘१’ को दोश्रो स्थानमा छ। ३ खेलमा ५ अंक सहित न्युजिल्यान्ड शिर्षमा छ। ४ खेलमा ३ अंक सहित आयरल्याण्ड चौंथो स्थानमा छ।

अस्ट्रेलियाले सुपर-१२ चरणको अन्तिम खेल अफगानिस्तानसंग नोभेम्बर ४ तारिखमा खेल्नेछ। आयरल्याण्डले सुपर-१२ चरणको अन्तिम खेल न्युजिल्यान्डसंग सोहि दिन खेल्नेछ।

नेट रन रेटमा इंग्ल्यान्ड भन्दा पछि रहेता पनि अन्तिम खेलमा अफगानिस्तानसंग राम्रो अन्तरको जितले अस्ट्रेलियाले नेट रन रेटमा उल्लेख्य सुधार गर्न सक्छ। अर्को तर्फ इंग्ल्यान्डले बाँकी दुई खेलमा श्रीलंका र न्युजिल्यान्ड संग खेल्ने हुँदा नेट रन रेटमा सुधार गर्न सहज हुनेछैन। श्रीलंका र आयरल्याण्डसंग खेल खेल्न बाँकी रहेको न्युजिल्यान्डको नेट रन रेट निकै राम्रो छ त्यसैले एउटा खेलमा जित दर्ता गरेको खण्डमा पनि सेमीफाइनलमा स्थान बनाउने सम्भावना बलियो छ।

इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच भोलि हुने खेलको नतिजाले समुह ‘१’ को समीकरण अझ प्रस्ट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy