टि-२० विश्वकप : सुपर-१२ मा नेदरल्याण्डको पहिलो जित, जिम्बाब्वे पराजित

२०७९ कार्तिक १६, बुधबार १३:०७

टेस्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्दै नेदरल्याण्डले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा पहिलो जित दर्ता गरेको छ।

अस्ट्रेलियाको एडिलेड ओभलमा जिम्बाब्वेले दिएको ११८ रनको लक्ष्य नेदरल्याण्डले ५ विकेट गुमाएर १८ ओभरमा भेटायो। जिम्बाब्वे बिरुद्ध नेदरल्याण्डको यो दोश्रो टि-ट्वान्टी अन्तर्राष्ट्रिय जित हो।

नेदरल्याण्डको लागि ओपनर म्याक्स ओ डोडले ५२ रन बनाए। डोडले दोश्रो विकेटको लागि टम कुपरसंग ७३ रनको साझेदारी गरे। कुपरले ३२ रन बनाए। बास डी लिडेले अविजित १२ रन बनाए। जिम्बाब्वे बलर रिचर्ड नगरभा र ब्लेसिंग मुजराबानीले २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले १९.२ ओभरमा ११७ रन बनाउदा सबै विकेट गुमायो।

सिकन्दर रजाले ४० तथा सिन विलियम्सले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। चौंथो विकेटको लागि रजा र विलियम्सले ४८ रनको साझेदारी गरे। नेदरल्याण्डले अतिरिक्तको रुपमा १४ रन खर्चियो।

डच बलर पल भान मिकीरनले ३ तथा ब्राण्डन ग्लोभर, लोगान भान बिक र बास डी लिडेले २/२ विकेट लिए।

अंकतालिका 

यस अघिको तिनवटै खेलमा पराजित नेदरल्याण्ड जितको बाबजुद २ अंकको साथ समुह ‘२’ को छैठौं स्थानम छ। पाकिस्तानको ३ खेलमा २ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै पाँचौ स्थानमा छ। हार पछि जिम्बाब्वे ४ खेलमा ३ अंक सहित चौंथो स्थानमा छ। दक्षिण अफ्रीका ३ खेलमा ५ अंक सहित पहिलो तथा भारत र बंगलादेश ३ खेलमा समान ४ अंक सहित दोश्रो र तेश्रो स्थानमा छन्। समुह ‘२’ अन्तर्गत दोश्रो खेलमा आज भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy