ICCWCL2 : स्कटल्याण्डद्वारा नामिबिया पराजित

२०७९ मंसिर १५, बिहीबार २१:२८

घरेलु टोलि नामिबियालाई ४ विकेटले पराजित गर्दै विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। सिरिजमा आयोजक नामिबिया, स्कटल्याण्ड र नेपाल सहभागी छन्।

विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले दिएको २१२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ६ विकेट गुमाएर भेटायो।

स्कटल्याण्डको लागि ओपनर कायल कोट्जरले सर्वाधिक ५४ रन बनाए। कप्तान रिची बेरिंगटन ले ३६, ब्राण्डन म्याकमुलेनले ३१, क्रिस्टोफर म्याकब्राइडले ३०, म्याथु क्रसले १९ तथा माइकल लिस्कले १८ रन बनाए।

नामिबियाका बलर रुबेन ट्रंपलम्यान र लफ्टि इटनले २/२ तथा बर्नार्ड स्कल्ज र टांगेनि लुंगामनीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ९ विकेट क्षेतीमा २११ रन बनायो।

नामिबियाको लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ९६ रन बनाए जुन क्रममा १३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। जेजे स्मितले ३८ तथा डीभान ला ककले २१ रन बनाए। ९२ रनमा ५ विकेट गुमेको अवस्थामा कप्तान जेरार्ड इरास्मस र जेजे स्मितले ६९ रनको साझेदारी गर्दै इनिंग्स उकासे।

स्कटल्याण्ड बलर ब्रान्डन म्याकमुलेन र सफ्यान सरिफले ३/३ तथा क्रिस सोल र माइकल लिस्कले १/१ विकेट लिए।

२९ खेलमा २०औं जितपछि लिग-२ अंकतालिकामा स्कटल्याण्ड ४२ अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ। नामिबिया २७ खेलमा ११ हार र १६ जित पछि ३२ नक सहित चौंथो स्थानमा यथावत छ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र अमेरिका ३६ खेलमा ३५ अंक सहित तेश्रो स्थानमा छ।

सिरिज अन्तर्गत शुक्रबार नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय १:४५ बजे दिउँसो सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy