ICCWCL2 : स्कटल्याण्डसंग नेपालको लज्जास्पद हार

२०७९ मंसिर २२, बिहीबार १८:०६

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा पनि नेपाल ८ विकेटले पराजित भएको छ।

सिरिज अन्तर्गत नामिबियासंगको पहिलो खेल नतिजाविहिन भएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले, तेश्रो खेलमा नामिबियासंग ८६ रनले पराजित भएको थियो।

युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट क्षेतीमा १६.५ ओभरमै भेटायो।

स्कटल्याण्डको लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक अविजित ४६ रन योगदान दिए।जर्ज मुन्सेले ४५ तथा कायल कोट्जरले १६ रन बनाए। नेपालको बलिंगमा गुल्सन झा र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले ३५.३ ओभरमा ११९ रनमा सबै विकेट गुमायो। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो हालसम्मकै तेश्रो कम योगफल हो भने स्कटल्याण्डसंग सबैभन्दा कम योगफल। नेपालको सबैभन्दा कम योगफल युएईसंगको १०३ रन हो भने युएईसंगनै ११३ रन दोश्रो कम योगफल हो।

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। सोमपाल कामिले १६, दिपेन्द्र ऐरीले १४ तथा ललित राजवंशीले ११ रन बनाए। अर्जुन साउद खाता नखोली आउट भए भने आसिफ शेख १, ज्ञानेन्द्र मल्ल ९, आरिफ शेख ६, हरिशंकर शाह १ तथा गुल्सन झा ५ रन बनाएर आउट भए।

स्कटल्याण्डको बलिंगमा ब्राण्डन म्याकमुलेन, सफ्यान शरिफ र मार्क वाटले २/२ विकेट लिए। क्रिस सोल, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रिभ्सले १/१ विकेट लिए।

लिग-२ मा नेपालको यो २४ खेल खेल्दा १४ औं हार हो। नेपाल १८ अंक सहित छैठौं स्थानमा छ भने जितपछि स्कटल्याण्ड ३२ खेलमा ४६ अंक सहित शिर्षमा कायम छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy