नेपाल टी-२० लिग : गौतम, बर्ल र बोहरा चम्किंदा काठमाडौँको विशाल जित

२०७९ पुष १७, आईतवार १३:१३

काठमाडौँ नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । स्कोरकार्ड 

लिगमा काठमाडौँको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौँसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

काठमाडौँका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको तथा रायन बर्लले ६१ रनको अविजित पारी खेले। गौतमले ४७ बलम ४ चौका र ४ छक्का तथा बर्लले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। चौथो विकेटको लागि गौतम र बर्लले ८४ रनको साझेदारी गरे। एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १-१ विकेट लिए ।

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए ।

काठमाडौँका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ३.१ ओभरमा १३ रन खर्चिए। अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १-१ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy