पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको छ ।
काठमाण्डौको मूलपानी अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित उद्घाटन खेलमा मेलम्ची नगरपालिकालाई ७२ रनले पराजित गर्दै उसले सुखद सुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच भोताङ क्रिकेट टीमका दावा लामा भए ।
फागुन २७ देखि चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन गर्दे पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले आफ्नो पालिका तथा सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिब दुर्गाराज पाठक, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, बौद्ध प्रहरीबृतका प्रमुख प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेत लगायतको उपस्थिती रहेको खेलकुद विकास समितिका प्रमुख ग्याल्बो साम्देनले जानकारी दिनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ ।
प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।
