तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

२०७९ चैत्र १२, आईतवार १९:३९

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्नुभएका कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल र यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले जनही ५० हजार रुपियाँसहित सम्मान गरेको हो ।

खेलाडीलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गर्नुभयो । सो अवसरमा नगरप्रमुख खाणले तिलोत्तमालाई क्रिकेट हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

नगर उपप्रमुख चौधरीले खेलाडीहरूले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्नुभयो ।

सम्मान ग्रहणपछि राष्ट्रिय खेलाडी भुर्तेलले सम्मानले आगामी दिनमा थप राम्रो गर्न हौसला मिलेको बताउँदै यसले नयाँ खेलाडी उत्पादनमा समेत अवसर जुराएको बताउनुभयो । उहाँले सबैको साथ समर्थनले नै आफू र आफ्नो टोलीले सफलता हात पारेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy