सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा रुपनी राइडर्स विजयी, फिर्दोशको अलराउण्ड प्रदर्शन 

२०८० असार ३, आईतवार १५:४२

सप्तरीको राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण आइतबार सुरु भएको छ।

सप्तरी क्रिकेट संघले आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा रुपनीले राइडर्स दिएको १५१ रनको लक्ष्य पछ्याएको राजविराज द किंग्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १३५ रन मात्र बनाउन सक्यो।

राजविराज द किंग्सको लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए। तृत राज दासले ३३ तथा अविशेक कार्कीले २९ रन बनाएता पनि जित्न पर्याप्त भएन। रुपनीको बलिंगमा फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनीले २० ओभरमा ६ विकेट क्षेतीमा १५० रन बनायो। उसको लागि प्लेयर अफ द म्याच समेत घोषित फिर्दोश अन्सारीले सर्वाधिक ६१ रन बनाए जुन क्रममा उनले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहन बिकले ३३ तथा विकास दासले २० रन बनाए।

३१ रनमा ३ विकेट गुमाएको अवस्थामा फिर्दोश र रोहनले चौंथो विकेटको लागि ६५ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए।

राजविराजको बलिंगमा बिक्रम सोबले २ विकेट तथा दिपेश सरदार, तृत राज दास र सोहेल खानले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका रुपनी राइडर्सका फिर्दोश अन्सारी घोषित भए।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इशरत पर्विन, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाल क्रिकेट संघका पूर्व कोषाध्यक्ष शैलेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवन कुमार देव, राजविराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल तथा वडा नम्बर-५ का अध्यक्ष बन्दुलाल दासको उपस्थिति रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy