जित्नै पर्ने खेलमा स्कटल्याण्डसंग ३१ रनले पराजित हुँदा जिम्बाब्वेको एकदिवसीय विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ। यस अघिनै वेस्टइन्डिज र ओमान छनोट नहुने निश्चित भैसकेको छ।
क्विन्स स्पोर्ट्स क्लबमा स्कटल्याण्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको घरेलु टोलि जिम्बाब्वेले ४१.१ ओभरमा सबै विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो।
जितसंगै स्कटल्याण्डले छनोटको सम्भावना बलियो बनाएको छ। बिहिबार हुने नेदरल्याण्ड र स्कटल्याण्ड बीचको खेलले श्रीलंका पछि विश्वकप छनोट हुने दोश्रो टिम तय हुनेछ। खेलमा स्कटल्याण्ड विजयी भए स्वतःस्फूर्त विश्वकपमा छनोट हुनेछ भने पराजित भएमा पनि नेट रन रेट बलियो हुँदा नेट रन रेटमा अघि हुने सम्भावना बढी छ। नेदरल्याण्डले ठूलो अन्तरले स्कटल्याण्डलाई पराजित गरेमा नेट रन रेटमा अघि हुँदै विश्वकप छनोट हुन सक्छ। स्कटल्याण्डको नेट रन रेट ०.२९६ छ भने ४ अंक रहेको नेदरल्याण्डको -०.०४२ छ। श्रीलंका एक खेल बाँकी रहँदै ४ खेलमा ८ अंक सहित विश्वकप छनोट भइसकेको छ।
विश्वकप छनोटको सुपर-सिक्स चरणमा सबै ५ खेल खेल्दा जिम्बाब्वे ३ जित र २ हार पछि ६ अंक सहित तेश्रो स्थानमा छ। स्कटल्याण्डको ४ खेलमा ३ जित र १ हार पछि समान ६ अंक रहेता पनि नेट रन रेटमा जिम्बाब्वे ( -०.०९९ ) भन्दा अघि रहेको हो।
समुह चरणमा सबै ४ खेल जित्दै समुह ‘ए’ को विजेताको रुपमा सुपर-सिक्स चरण प्रवेश गरेको जिम्बाब्वेले सुपर सिक्स चरणमा ओमानलाई पराजित गरेता पनि श्रीलंका र स्कटल्याण्डसंग पराजित भएको हो।
लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ३७ रनमा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि रायन बर्ल र सिकन्दर राजाले ५४ रनको साझेदारी गरे। ३४ रन बनाएका राजा अठारौं ओभरमा आउट भए। छैठौं विकेटको लागि बर्लले वेस्ले मधिभिरेसंग ७३ रन जोडे। ३१ औं ओभरमा मधिभिरे ४० रन बनाएर आउट भएपछि जिम्बाब्वेले थप २ विकेट गुमायो। एक किनार सम्हालीरहेका रायन बर्ल उनन्चालीसौं ओभरमा माइकल लिस्कबाट क्याच आउट भए। बर्लले ८४ बलमा ८ चौका र १ छक्का मद्दतले ८३ रन बनाए। बयालीसौं ओभरमा सफ्यान सरिफले टेन्डाई चतारालाई बोल्ड गर्दै स्कटल्याण्डलाई जित दिलाए।
स्कटल्याण्डको बलिंगमा क्रिस सोलले ३ तथा ब्रेण्डन म्याकमुलेन र माइकल लिस्कले २/२ तथा सफ्यान सरिफ, मार्क वाट र क्रिस ग्रिभ्सले १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट क्षेतीमा २३४ रन बनायो। उसको लागि माइकल लिस्कले सर्वाधिक ४८, म्याथु क्रसले ३८, ब्रेण्डन म्याकमुलेनले ३४, क्रिस्टोफर म्याकब्राइडले २८ तथा मार्क वाटले २१ रन बनाए। जिम्बाब्वे बलर सिन विलियम्सले ३, टेन्डाई चताराले २ तथा रिचर्ड नगरभाले १ विकेट लिए।
समुह चरणमा ३ खेलमा जित र १ खेलमा हार पछि समुह ‘बि’ को उपविजेताको रुपमा सुपर सिक्स चरण प्रवेश गरेको स्कटल्याण्डले सुपर सिक्समा वेस्टइन्डिज र जिम्बाब्वेलाई पराजित गरेको हो।
