सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

२०८० असार २२, शुक्रबार २१:४६

HARARE, ZIMBABWE - JULY 02: Dipendra Airee and Sandeep Lamichhane of Nepal celebrate victory in the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 Playoff match between Nepal and United Arab Emirates at Takashinga Cricket Club on July 02, 2023 in Harare, Zimbabwe. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् ।

जिम्बाव्वेमा क्रिकेट विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि कप्तान रोहितले दुई खेलाडी इमर्जिङ कप नखेल्ने बताएका हुन् । रोहितले अरु खेलाडीलाई अवसर दिने बताए ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलङ्कामा हुँदैछ ।

ग्लोबल टी-२० क्यानडा लिग जुलाई २० देखि अगस्ट ६ सम्म हुनेछ । जसमा नेपालबाट सन्दीप र दीपेन्द्र छनोट भएका छन् ।

पहिलो पटक विदेशी लिगका लागि छनोट भएका दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले ड्राफ्टमार्फत अनुबन्ध गरेको हो ।

यसअघि दुई पटक क्यानडामा लिग खेलिसकेका सन्दीप यस पटक सरे जागुअरमा अनुबन्ध भएका छन् ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।

श्रीलङ्का ए, बङ्गलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपालले इमर्जिङ टिम्सको लागि छिटै टोली घोषणा गर्ने क्यानले जनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy