एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसंग मुल्तानमा

२०८० श्रावण ३, बुधबार २१:५९

श्रीलंका र पाकिस्तानले संयुक्त रुपले आयोजना गर्ने एसिया कप प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र आयोजक पाकिस्तान प्रतिस्पर्धा गर्ने भएका छन्।

एकदिवसीय फर्म्याटमा आयोजना हुने एसिया कप ३० अगस्ट देखि १७ सेप्टेम्बरसम्म आयोजना हुनेछ। फाइनल खेलको लागि १८ सेप्टेम्बरमा रिजर्भ डे राखिएको छ।

एसियन क्रिकेट काउन्सिल ( एसीसी ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ३० अगस्टमा पाकिस्तानसंग पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा खेल्नेछ। यस्तै दोश्रो खेल ४ सेप्टेम्बरमा भारतसंग खेल्नेछ जुन खेल भने श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ। प्रतियोगिताको खेल सुरु हुने समय भने एसीसीले घोषणा गरेको छैन।

नेपाल र पाकिस्तान बीच उद्घाटन खेल हुने मुल्तान क्रिकेट स्टेडियम

भारत र पाकिस्तानसंग नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्नेछ।

प्रतियोगितामा पहिलो पटक छनोट भएको नेपाल समुह ‘ए’ मा छ जुन समुहमा पाकिस्तान र भारत छन्। समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। समुह चरणमा सबै टिमले एक अर्का संग १/१ खेल खेलेपछि दुई समुहबाट २/२ टिम सुपर-४ चरण प्रवेश गर्नेछन्।

प्रतियोगितामा कुल १३ खेल हुनेछन् जसमध्ये ४ वटा खेल पाकिस्तानमा खेलिनेछन् भने बाँकी ९ खेल श्रीलंकामा खेलिनेछन्। कुल ४ वटा मैदानमा उक्त खेलहरु संचालन हुनेछन्। श्रीलंकाले क्यान्डी सहरमा पहिलो चरणको खेलहरु संचालन गर्नेछ भने कोलोम्बोमा सुपर-४ चरणको ५ वटा र फाइनल खेल संचालन हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेल मुल्तानमा नेपालसंग खेलेपछि पाकिस्तानले बाँकी ३ वटा खेल लाहोर स्थित गद्दाफी स्टेडियममा आयोजना गर्नेछ।

खेलतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy