ग्लोबल टि-२० क्यानडा : दिपेन्द्रको ब्याटिंग लय कायमै, टाइगर्सको हार

२०८० श्रावण १७, बुधबार ०७:३०

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत मोन्टरियल टाइगर्सको प्रतिनिधित्व गरिरहेका नेपाली अल-राउण्डर दिपेन्द्र सिंह ऐरीले आफ्नो लय कायमै राखेका छन्।

बुधबार राति सम्पन्न भानकुभर नाइट्ससंगको खेलमा टिम ९ विकेटले पराजित भएता पनि दिपेन्द्रले ब्याटिंगमा आफ्नो छाप छोड्न सफल रहे।

खेलमा मोन्टरियलले दिएको १०० रनको लक्ष्य नाइट्सले १४.५ ओभरमा भेटायो जुन क्रममा मोहमम्द रिजवानले अविजित ६८ रन बनाए। बलिंगमा नाइट्सका रुबेन ट्रंपलम्यान र जुनैद सिद्दिकीले ३/३ तथा कोर्बिन बोस्चले २ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको मोन्टरियलले १८.३ ओभरमा ९९ रनमा सबै विकेट गुमायो। त्यस क्रममा ऐरीले टिमको लागि दोश्रो ठूलो योगदान दिने क्रममा २७ बलमा ३ चौका मद्दतले २४ रन बनाए।

२८ रनमा ४ विकेट गुमाएको अवस्थामा छैठौं अवस्थामा ब्याटिंग गरेका ऐरीले पाँचौ विकेटको लागि मुहम्मद वासिमसंग ३४ रनको तथा छैठौं विकेटको लागि आन्द्रे रसेलसंग २४ रनको साझेदारी गरे। वासिमले २८ तथा रसेलले १२ तथा दिलप्रित सिंहले १४ रन बनाए।

सुरुवाती १० बल खेल्दा ५ रन बनाएका ऐरीले नवौं ओभरमा जुनैद सिद्दिकीलाई पहिलो चौका प्रहार गरे। त्यसपछि मुहम्मद कमलले गरेको तेह्रौं ओभरको तेश्रो र पाँचौ बलमा ऐरीले दुई चौका प्रहार गरे। पन्ध्रौँ ओभरमा ऐरीलाई जुनैद सिद्दिकीले बोल्ड गर्दै पेभेलियन फर्काए।

पुनः एकपटक ऐरीले राम्रो सुरुवात पाएता पनि अन्तिमसम्म ब्याटिंग गर्न भने चुके। यस अघि ब्राम्पटन विरुद्धको खेलमा पनि २८ रन बनाएका ऐरी म्याच फिनिसिङ गर्न भने चुकेका थिए। आक्रामक ब्याटिंग नगरेता पनि एक किनारमा विकेट जोगाउदै स्ट्राइक रोटेसन राम्रो गरिरहेका ऐरीले पहिलो खेलमा सरे ज्यागुअर्स विरुद्ध २८ तथा दोश्रो खेलमा भानकुभर नाइट्स विरुद्ध अविजित २२ रन बनाएका थिए भने उक्त खेलमा १ विकेट समेत लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy