क्यानको टिकेटिङ्ग पार्टनरमा आईएमई पे, दुई वर्षमा डेढ करोड दिने

२०८० आश्विन १८, बिहीबार २०:५३

नेपाल क्रिकेट सङ्घ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट सङ्घले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।

सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट सङ्घले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेटको विक्रीको जिम्मेवारी पनि आई एम ई पे ले पाएको छ। राजधानी काठमाडौँमा बिहीबार सम्पन्न एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

https://www.youtube.com/watch?v=eD3YpZKQjzQ

पत्रमा नेपाल क्रिकेट सङ्घको तर्फबाट सचिव पारस खड्का र आई एम ई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।

सम्झौता वापत आईएमई पेले क्यानलाई दुई वर्षमा डेढ करोड रुपैया प्राप्त गर्नेछ। यस्तै सो अवधिमा क्यान अन्तर्गत रहेर मैदानमा काम गर्ने १०० जना कर्मचारीहरुको सुरक्षा विमा समेत आईएमई पेले गर्नेछ।

सोहि कार्यक्रममा आईएमईपेले आफ्नो ब्राण्ड एम्बासडरको रुपमा राष्ट्रिय क्रिकेट टिमका दुई फास्ट बलर सोमपाल कामि र करन केसीलाई एक वर्षको लागि आवद्ध गरेको छ। सम्झौता वापत दुई क्रिकेटरले पाँच/पाँच लाख रुपैयाँ पाउनेछन्।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले, आई एम ई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ। यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो। यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट सङ्घको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु,’ खड्काले भने ।’

यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्। नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु, र ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।

https://youtu.be/8PbD4alxjHQ?si=1TYNDhmEpEV4pLx6

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy