यु-१९ एसिया कप : अफगानिस्तानसँग पराजित नेपालको सेमिफाइनल सम्भावना कठिन

२०८० मंसिर २४, आईतवार २०:२२

एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा आइतबार भएको खेलमा जितमा लागि दुई सय ६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो ।

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ । नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाए । उनले एक सय आठ बलमा १३ चौकाको सहयोगमा उक्त रन बनाए । देव खनालले २४, गुलशन झाले १७, दीपक बोहोराले १५ र दीपेश कँडेलले ११ रन बनाए ।

बलिङ्मा अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन डाउडजाईले तीन तीन विकेट लिए । मोहमद युनुसले दुई दुई तथा वाहिदुल्हा जार्दन र खलेल अहमदले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको शतकीय पारी खेले । उनले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए ।

नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए ।

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई दुई विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट लिए ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy