प्रदिप चम्कँदा मधेशको जित

२०८० माघ १४, आईतवार २०:२९

काठमाडौं । स्पिनर प्रदिप पासवान बलिङमा चम्कँदा मधेश प्रदेशले प्रधानमन्त्री कपको आफ्नो समूह चरणको अन्तिम खेलमा जित दर्ता गरेको छ ।

मुलपानी मैदानमा भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ ।

मधेश प्रदेशले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लम्बिनी प्रदेश ४० दशमलब ५ ओभरमा १ सय ६० रनमा अल आउट भयो ।

लुम्बिनीका लागि विकेट किपर प्रज्वल थापाले ७९ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । थापाले चार चौका र तीन छक्का प्रहार गरे । अभिसेक गौतमले ३२ बलमा २६ तथा दिल्साद अलिले ३७ बलमा २२ रन बनाए ।

मधेशका लागि प्रदिप पासवानले नौ ओभरमा ३० रन खर्चिएर छ विकेट लिए । अभिषेक तिवारीले दुई तथा हरिशंकर शाह र रुपेश सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मधेश ४१ दशमलब ३ ओभरमा १ सय ६९ रन बनाउँदै अल आउट भएको थियो ।

मधेशका लागि अरनिको यादवले ५० बलमा ३८ तथा पवन सरार्फ र अभिषेक तिवारीले समान २६ रन बनाए । मयन यादवले २५ बलमा २२ रन बनाए । अनिल शाहले ३४ बलमा १६ रन बनाए ।

लुम्बिनीका लागि विर मगरले चार तथा अभिसेक गौतमले तीन विकेट लिए ।

१२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेर मधेशले पिएम कपको यस संस्करण सकेको छ । जितका बाबजुद शीर्षमा रहने मधेशको सम्भावना भने सकिएको छ । शीर्ष चारमा रहेर एलिट कप खेल्ने सम्भावना भने कायमै रहेको छ ।

हारका साथ लुम्बिनीले एलिट कपको सम्भावना पुरा सकेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy