सिरिज जित्न नेपाललाई २८६ रनको लक्ष्य

२०८० माघ २७, शनिबार १३:१०

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको सिरिज जित्न नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।

क्यानडाका लागि आरोन जोनसनले ६२ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १० चौका र २ छक्का प्रहार गर्दै भीम सार्कीबाट रन आउट भए । जोनसन ५० बलमा ४२ रनमा रहँदा आकाश चन्दको बलमा सुर्य तामाङले क्याच मिस गरेका थिए ।

जोनसन र धलीवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । नविनित धलीवालले ६० बलमा ४६ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए । धलीवाल १८ दशमलब २ ओभरमा आकाश चन्दको बलमा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए । आकाशको ओडिआईमा यो डेब्यु विकेट रहेको थियो । चन्दले आज नै ओडिआई डेब्यु गरेका थिए ।

प्रगत सिंहले ३८ बलमा ३८ रन बनाए । सिंहले ६ चौका प्रहार गरेका थिए । उनी कप्तान रोहितकुमार पौडेलको बलमा सोमपाल कामीद्वारा क्याच आउट भए । सिंह नेपाली कप्तान पौडेलको नै बलमा देव खनालले क्याच मिस गरेका थिए । क्याच मिस हुँदा उनले २३ बलमा ३० रन बनाएका थिए ।

सिंहले पहिलो ओडिआईमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । सोहि ओभरमा कप्तान पौडेलले निकोलस किर्टनलाई आशिफ शेखबाट स्टिम्पीङ गरेका थिए । निकोलसले २९ बलमा २० रन बनाएका थिए ।

पाँचौ विकेटका रुपमा ३४ दशमलब ५ ओभरमा सुर्य तामाङले हर्ष थाकरलाई आउट गराए । सुर्यको यो ओडिआई खेलको डेब्यु विकेट समेत रहेको थियो । उनले यसै सिरिजको पहिलो खेलमा डेब्यु गरेका थिए ।

May be an image of 2 people and text

छैटौं विकेटका रुपमा दिलप्रति बाज्वालाई ३८ दशमलब ४ ओभरमा कुशल मल्लले बोल्ड आउट गराए । क्यानडाको सातौं विकेटका रुपमा ४० दशमलब ४ ओभरमा कप्तान साद विन जाफर कुशल मल्लको बलमा पवन सरार्फबाट क्याच आउट भए ।

आठौं विकेटका रुपमा ४४ दशमलब ५ ओभरमा शाहिद अहमदजाई १३ रन बनाउँदै पवन सरार्फको बलमा बोल्ड भए । नवौं विकेटका लागि श्रेयस मोभ्भा र उदय भगवानले ४६ रनको साझेदारी गरे । मोभ्भाले ४२ बलमा ४० रनबनाउँदा भगवान २० रनमा अविजित रहे ।

पहिलो विकेटका लागि ९४ को साझेदारी भएपनि नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेल तथा कुशल मल्लले समान दुई दुई तथा पवन सरार्फ, सुर्य तामाङ, सोमपाल कामी र आकाश चन्दले समान एक एक विकेट लिए ।

क्यानडाविरुद्धको पहिलो खेलमा खेलेका तीन जना खेलाडीलाई बेन्चमा राखिएको छ । ललितनारायण राजवंशी,कुशल भुर्तेल र आरिफ शेख बेन्चमा रहेका छन् ।

आजको खेलमा आकाश चन्द, देव खनाल र अनिल शाहलाई टिममा समेटिएको छ । आकाशको यो ओडिआई डेब्यु खेल हो । आकाश नेपालका लागि ओडिआई खेल्ने ४० औं खेलाडी हुन् ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । यो खेलमा जितका साथ नेपाल एक खेल अगावै सिरिज जित्न चाहन्छ । क्यानडा पनि जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy