गर या मरको श्रीलंकासँग खेल्दै नेपाल 

२०८१ जेष्ठ २९, मंगलवार ०८:४१

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा गर या मरको अवस्थामा पुगेको श्रीलंकाले नेपालको सामना गर्दैछ ।

नवौं संस्करणको विश्वकपको २३ औं खेलमा समूह डी मा रहेका नेपाल र श्रीलंकाबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार बुधबार बिहान सवा पाँच मा अमेरिकाको फ्लोरिडामा हुदैछ ।

दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । दोस्रो खेल खेल्दै गरेको नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग छ विकेटले पराजित भएको थियो । जित्नै पर्ने दवावमा रहेको श्रीलंकालाई हराउँदै टेस्ट राष्ट्रमाथि पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

उता, श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग तथा दोस्रो खेलमा बंगलादेशसँग स्तब्ध बनेको थियो । सुपर आठ प्रवेशका लागि श्रीलंकालाई यो खेल जित्नै पर्ने दवाव रहेको छ । नेपालसँगको खेलमा पराजित भएमा श्रीलंकाको अघिल्लो चरण प्रवेशको सम्भावना औपचारिक रुपमा सकिने छ ।

नेपाल र श्रीलंका क्रिकेट इतिहासमा नै पहिलो पटक आमने सामने हुदैछन् । कुनै पनि क्रिकेट फर्म्याटमा नेपाल र श्रीलंकाको यो नै पहिलो भेट हो ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा को नेपाल र श्रीलंकाको अलावा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

नवौं संस्करणको विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

https://youtu.be/x5ABnznRwwk?si=h0mcTPXHOX7sUT31

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy