काठमाडौं । नेपालले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।
समूह बी मा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान सवा पाँचबाट सुरु हुनेछ ।
नेपाल र बंगलादेश टी२० आई मा दोस्रो पटक खेल्न लागेका हुन् । सन् २०१४ मा बंगलादेशमा नै आयोजना भएको टी-२० विश्वकपमा नै नेपाल र बंगलादेशबीच पछिल्लो भेट भएको थियो । एक पटकको भेटमा बंगलादेशले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
नेपालले टेस्ट मान्यता पाएको राष्ट्रविरुद्ध खेलेको त्यो नै पहिलो टी-२० आई खेल रहेको थियो ।
नेपालमाथि हाबी रहेको बंगलादेश
नेपाल र बंगलादेशबीच एक पटक भएको टी-२० आई खेलमा बंगलादेश सहज रुपले विजयी भएको थियो । १८ मार्च २०१४ मा घरेलु मैदानमा भएको पाँचौ संस्करणको विश्वकपमा बंगलादेशले नेपाललाई आठ विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले ४१ तथा शरद भेषवाकरले ४० रन बनाएका थिए । बंगलादेशका लागि अल अमिन हसनले दुई तथा मस्रफि मुर्ताजा र साकिब अल हसनले समान एक एक विकेट लिएका थिए ।
नेपालले दिएको १ सय २७ रनको लक्ष्य बंगलादेशले १५ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशका लागि अनामुल हकले ४२ तथा साकिब अल हसनले अविजित ३७ रन बनाएका थिए , नेपालका लागि बसन्त रेग्मीले एक विकेट लिएका थिए ।