भदौ १४ देखि टियु बिआईएम कप क्रिकेट

२०८१ भाद्र ११, मंगलवार २१:५५

टियु बिआईएम कप क्रिकेट यही भदौ १४ देखि १७ गते सम्म मुलपानी क्रिकेट मैदान, काठमाडौँमा आयोजना हुने भएको छ।

नेपाल कमर्स क्याम्पसको आयोजना तथा म्यान क्यान डु प्रा. लि. ले व्यवस्थापन गर्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस, किस्ट कलेज, केसीएमआईटी, मेची मल्टिपल क्याम्पस , आईएमएस कलेज, सेन्ट जेभियर्स कलेज, र अर्किड इन्टरनेशनल कलेज रहेका छन्।

प्रतियोगितामा विजेता टोलीले नगद पुरस्कार रु. ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २० हजार पाउनेछ। यसका साथै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, र सिरिजको उत्कृष्ट खेलाडीलाई तीन महिनाको लागि ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षणको अवसर प्रदान गरिनेछ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको विजेता ट्रफी समेत सार्वजनिक गरिएको छ। कार्यक्रम नेपाल क्रिकेट संघ ( क्यान ) का केन्द्रिय सदस्य सुदिप शर्माको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतियोगिताको फाइनल खेल १७ भदौमा सम्पन्न हुनेछ।  प्रतियोगिता विद्यार्थीहरू बीचको मित्रता र खेलकुदको भावना प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था म्यान क्यान डुका प्रबन्ध निर्देशक सुनिल थापाले बताए। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्न र खेलाडीहरूलाई हौसला प्रदान गर्नका लागि आमन्त्रण गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस रोमाञ्चक प्रतियोगिताले खेलप्रेमीहरूलाई मनोरञ्जन दिने विश्वास आयोजकले लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy