लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

२०८१ कार्तिक २६, सोमबार २१:४६

राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो ।

नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई “महानायक”को रुपमा पनि चिनिन्छ । ब्राण्ड एम्बेसेडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् ।

ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भन्नुभयो, “लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।”

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसेडरको रूपमा स्वागत गर्दै भन्नुभयो, “चलचित्र जगतको लायनलाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडी बढिरहेका छौं र सोही अनुरुप कप्तान, कन्सुल्टेन्ट कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ । म आफँ पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ ।”

नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

रोहित पौडेल मार्की खेलाडी रहेको लायन्समा सुर्य तामांग, बिबेक यादव, सन्दिप जोरा, अर्जुन साउद जस्ता राष्ट्रिय क्रिकेटर छन्। यस्तै आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, अभिषेस गौतम, बिकाश आग्री जस्ता खेलाडीहरु समाबेश छन्। विदेशी खेलाडीको रुपमा टिममा उन्मुक्त चन्द, बेन कटिंग, टम मुर्स आवद्ध भैसकेका छन्।

टिमको मुख्य प्रशिक्षकमा भारतका नन्दन फाड्निस तथा सल्लाहकार प्रशिक्षकमा शक्ति गौचन छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy