कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

२०८१ माघ ८, मंगलवार ००:३०

rubina chhetry

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाएको छ।

मंगबार भएको खेलमा कोशीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको हो। योसँगै समूह बीको शीर्ष स्थानमा उक्लिएको कोशीले दुई खेलबाट चार अंक बटुलेको छ। कोशीले पहिलो खेलमा बागमतीलाई १० रनले हराएको थियो। मधेश भने त्रिभुवन आर्मीसँग १० विकेटले पराजित भयो। आर्मी र बागमतीको समान दुई अंक रहँदा मधेश अंकविहीन छ।

कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो। मधेशकी प्रतीमा साहले सर्वाधिक १७ रन जोडिन्। ३१ बल खेलकी उनले दुई चौका प्रहार गरिन्।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। मधेशलाई सस्तैमा समेट्न रुविनाले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १० रन मात्रै खर्चिइन्। ज्योति दनुवार र आलिशा खडायतको नाममा समान दुई र संगिता राईको नाममा एक विकेट रह्यो।

त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

कोशीलाई बलियो बनाउन ओपनिङमा उत्रिएकी रुविनाले सर्वाधिक ५७ रन बनाइन्। ५३ बल खेलेकी उनले सात चौका प्रहार गरिन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो। टिका शाहीले २१ रन बनाउँदा विमला मलाह पाँच रनमा अविजित रहिन्।

मधेशकी प्रतिमाले सर्वाधिक दुई विकेट लिइन्। सरस्वती कुँवर, भूमि सिंह र दिपा रामको नाममा समान एक विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy