अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।

कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश संघको विशेष साधारण सभाले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

संघको साधारण सभा सदस्यहरु ४१ मध्य उपस्थित ३८ जनाले अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मत हाले।

गुरुङ भने साधारण सभामा सहभागी थिएनन्। प्रदेश संघको कोषाध्यक्ष पद रिक्त छ भने कार्य समिति सदस्य सुबास तिमिल्सिना विदेशमा भएकाले तीन जना मतदानमा सहभागी भएनन्। अन्य ३८ जनाले गुरुङविरुद्ध मतदान गरेका थिए।

गुरुङविरुद्ध ३१ जना सदस्यले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएर साधारण सभा बैठक बोलाउन माग गरेका थिए।

गुरुङले षड्यन्त्र गरेर आफुलाई पदच्युत गर्न खोजिएको भन्दै पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्मा साधारण सभा रोक्न निवेदन दिएका थिए।
राखेपले विनियमावली सम्बन्धि विवाद निरुपण नभएसम्म साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो।

तर नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले क्यान विधान र प्रदेश संघको विनियमावली बमोजिम विशेष साधारण सभा सम्पन्न गर्न निर्देशन दिएका थिए। उता क्यान सचिव पारस खड्काले शुक्रबार राति प्रदेश संघलाई पत्र लेख्दै विशेष साधारण सभा रोक्न अनुरोध गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy