सुर्खेतमा जारी टिबि शाह मेमोरियल यू-१६ एकदिवसीय राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन्।
विरेन्द्रनगर रंगशालामा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।
रौनककले बनाएको २१७ रन नेपाली घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमै सर्वाधिक व्यक्तिगत रन हो। प्रधानमन्त्री कप २०१८ मा शशस्त्र प्रहरी बल ( एपीएफ ) का ओपनर प्रदिप ऐरीले प्रदेश २ ( मधेश प्रदेश ) विरुद्ध बनाएको १५८ रन यस अघि नेपाली घरेलु क्रिकेटको सर्वाधिक रन थियो।
खेलमा पहिले ब्याटिंग गरेको लुम्बिनी प्रदेशले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रनको विशाल स्कोर तयार गरेको थियो। यो स्कोर पनि नेपाली घरेलु राष्ट्रिय प्रतियोगिताको सर्वाधिक टिम योगफल हो।
४०४ रनको लक्ष्य पछ्याएको गण्डकीले २८. २ ओभरमा ७१ रनमा सबै विकेट गुमाउन पुग्यो र ३३२ रनको हार बेहोर्न पुग्यो। यो हार नेपाली घरेलु राष्ट्रिय प्रतियोगितामा सर्वाधिक रन अन्तरको हार समेत हो।
