कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच प्रायोजन सम्झौता

२०८२ श्रावण २७, सोमबार १९:१३

काठमाडौँ — कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच एक वर्षका लागि प्रायोजन सम्झौता भएको छ ।

नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताको रकम भने गोप्य राखिएको छ ।

यस सम्झौताअनुसार कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउनुका साथै जर्सीमा फाउन्डेसनको नाम पनि अंकित हुनेछ । फाउन्डेसनले भविष्यमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्न समर्पित नेपालको अग्रणी शिक्षा परामर्शदाता कृष्णा फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्णले भने, “एजुकेसन कन्सल्टेन्सी मधेश प्रदेश संघसँग जोडिँदा हामीलाई खुसी लागेको छ। हामी भारतमा काम गर्ने सबैभन्दा ठूलो र उत्कृष्ट युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएका छौँ। अब खेलकुदको माध्यमबाट अझ धेरै विद्यार्थीमा पहुँच पुर्याउने हाम्रो चाहना छ।”

“कृष्णा फाउन्डेसनले शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ र एजुकेसन, कोचिङ र सपोर्ट प्रदान गर्दै आएको छ। मधेशमा क्रिकेट लोकप्रिय छ र त्यहाँको ग्रासरुट क्रिकेटको विकासको लागि योगदान दिने हाम्रो चाहना छ।” उनले थपे।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फाउन्डेसनले मधेश प्रदेशलाई फाउन्डेसनले दिएको साथको प्रशंसा गर्दै यो कदम तारिफयोग्य भएको बताउनुभयो । उहाँले यस्ता प्रायोजनले प्रदेश क्रिकेट संघलाई आत्मनिर्भर बनाउने र यसलाई अन्य सातवटै प्रदेशले पनि अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले प्रायोजन सम्झौताबाट आफू निकै खुसी भएको व्यक्त गर्दै यसबाट प्राप्त हुने रकमलाई ग्रासरुट क्रिकेटको विकासमा लगाइने बताउनुभयो । उहाँले हाल संघले १० जना क्रिकेटरलाई मासिक तलब (कन्ट्र्याक्ट) दिँदै आएकोमा अब थप २ जनालाई पनि यसमा समेट्न सहज हुने जानकारी दिनुभयो । रकमलाई ग्रासरुट क्रिकेट विकासमा लगाइने प्रतिवद्धता उनले व्यक्त गरे।

कार्यक्रममा क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउद, मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठ, कोषाध्यक्ष सुबाष जैसवाल तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको पनि उपस्थिति थियो ।

यसैगरी, कार्यक्रममा उपस्थित मधेश प्रदेशबाट राष्ट्रिय टिममा रहेका क्रिकेटरहरू पवन सर्राफ, रुपेश सिंह र आदील आलमले पनि सम्झौताप्रति खुसी व्यक्त गर्दै यसले आफूहरूलाई थप प्रेरित गर्ने बताए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy