कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता

 

काठमाडौं, असोज ३०: नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरे। यप सँगै एसियन पेन्ट्स लगातार दोस्रो वर्ष कर्णाली याक्सको सहप्रायोजकका रूपमा जोडिएको छ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले एसियन पेन्ट्ससँगको निरन्तर सहकार्यले टोलीको यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। “कर्णाली याक्ससँग एसियन पेन्ट्सको निरन्तर सहकार्यले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ। खेलकुदमा सफलता हासिल गर्न मैदानभित्रको मेहनतसँगै मैदानबाहिरबाट प्राप्त हुने विश्वास र साथ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दोस्रो वर्ष पनि हाम्रो यात्रामा जोडिनुभएकोमा हामी आभारी छौँ। यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साह र लगानीलाई थप प्रोत्साहन गर्ने विश्वास लिएका छौँ,” मल्लले भने।

एसियन पेन्ट्ससँगको सहकार्यले कर्णाली याक्सको मैदानभित्रको प्रतिस्पर्धात्मक यात्रासँगै टोलीको पहिचान र समर्थकसँगको सम्बन्धलाई पनि थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट र बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्सको प्रमुख प्रायोजकमा एक्स्ट्रिम, हेडगेयर पार्टनरमा प्लम्बर पाइप, कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज तथा प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टाइल्स रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy