काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका अध्यक्ष ग्रेग बार्क नेपाल आउने भएका छन् ।
नेपाली क्रिकेटबारे बुझ्न उनी १८ मार्च देखि २१ मार्चसम्म नेपाल भ्रमणमा आउन लागेका हुन् । ४ दिने नेपाल भ्रमणमा आउन लागेका अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि छलफल गर्ने तालिका रहेको छ ।
उनले त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरि रहेका बेला अध्यक्ष बार्कको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानले बताएको छ ।
अध्यक्ष बार्कले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा भनिएको छ । यसैगरी क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आइसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन् ।
उनी सन् २०२२ मा आइसीसीको नेतृत्वमा आएका थिए । न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेको बार्क आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए ।

