काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ ।
बिहीवार भएको खेलमा ओमानले युएईमाथि ४ विकेटको जित हात पारेको हो । युएईले दिएको ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
ओमानका लागि अमिर कलिमले ४३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३२ रन जोडे । चौथो विकेटका लागि कलिम र कमिद मिर्जाले ५६ रनको साझेदारी गरे । मिर्जाले ३४ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।
युएईका लागि बासिल हमिदले ३, आयान खानले २ तथा धुव्र परासरले १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा अल आउट भएर ६८ रनको योगफल तयार गर्न सक्यो ।
युएईका लागि अलि नासिरले सर्वाधिक २१ तथा मोहम्मद वासिम र जुनैद सिद्धिकीले समान १३ रन जोडे । बासिल हमिदले १२, वृत्य अरबिन्दले ११ रन जोड्दा ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् ।
ओमानका लागि सकिल अहमदले १० ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । जय ओडेरले २ तथा समय श्रीवास्तव र मुजाहिर राजाले समान १ विकेट लिए ।
८ राष्ट्रको सहभागीता रहेको लिगमा जितसँगै ओमान ११ खेलमा १२ अंकका साथ छैटौं स्थानमा छ । युएई १० खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देशले ओडिआई विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।